आज हरितालिका तीज पर्व

मेचीकाली संवाददाता

१ आश्विन २०८०, सोमबार
121 shares
teej

बुटवल । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । हरितालिका (तीज) पर्वका अवसरमा देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीजसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ ।