एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक आजपनि स्थगित

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
819 shares

बुटवल । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालको कारण बुधबार पनि अबरुद्ध भएको छ । प्रतिपक्षी दलको सहमति विपरीत पनि सभामुखले जबर्जस्ती सदन चलाउन खोजेको भन्दै विरोध भएको छ ।

सूर्य चिन्ह्रबाट निर्वाचित भएका र एमालेको संसदीय दलका बैठकमा सहभागी भएका र एमालेकै सांसदका रुपमा संसद् सचिवालयबाट प्रमाणित भएका दुई जना सांसदलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमालेले कारबाही गरेको छ । कारबाहीमा परेका सांसद विमला वली खत्री र अजय शाहीलाई पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेपछि एमालेले सदनको बैठक अवरोध गरेको हो । यसअघिको बैठकमा पनि एमालेले सोही माग राखेर रोस्टम घेराउ गर्दै सदन अबरुद्ध गरेको थियो ।

सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिवालयलाई पत्र काटेर पार्टीले वली र शाहीलाई सांसद पदमुक्त गर्न आग्रह गरेपनि उनीहरूलाई पदमुक्त गरिएको छैन । यसलाई एमालेले सभामुखबाट पूर्वाग्रह भएको आरोप लगाएको छ । कानुनअनुसार सबै प्रक्रिया पूरा गरेर, विधिसम्मत तरिकाले अनुशासनको कारबाही गरिएको र सो पत्र संसद्मा पेश गरेपनि सभामुखले अगाडि नबढाएकाले सदन अबरुद्ध गर्नुपरेको नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

एमालेका सांसदहरू रोस्टम घेराउ गर्दै गएर ‘हाम्रा माग पूरा गर’ भन्दै नाराबाजी गरेको थिए । एमाले सांसद बैजनाथ चौधरीले ‘संसदीय मर्यादा कायम गर, विधिसंगत सदन सञ्चालन गरौं, एकाधिकारबाद मुदाबार्द’ भन्दै नाराबाजी गरेका थिए । एमाले सांसदहरु नाराबाजी गरिरहँदा सभामुख पूर्णबहादुर घर्ती हाँसिरहेका थिए । एमालेको सदन सत्तापक्षले एकलौटी रुपमा चलाउन खोजेको आरोप लगाएको छ ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन् । उनले संसदको नियमानुसार नै कारबाही अघि बढ्ने बताएका छन् । वली एमाले र माओवादी केन्द्र एकता हुँदा बनेको पार्टी नेकपाबाट निर्वाचित सूर्य चिन्ह लिएर जितेकी सांसद हुन् । उनले कहिले एमाले त कहिले माओवादी केन्द्र रोजेको बताए पनि यसअघिका एमाले संसदीय दलका बैठकमा सहभागी हुँदै आएकी थिइन् । पछिल्लो प्रकरणमा उनी माओवादी केन्द्रमा रहेको बताएपनि त्यसाई मान्यता मिल्ने कानुनी आधार छैन ।

यता सूर्य चिन्ह लिएर गठबन्धनबाट निर्वाचित शाही पनि एमाले सांसदको हैसियतमा एमाले संसदीय दलका बैठकमा निरन्तर सहभागी हुँदै आएका थिए । पछिल्लो एउटा बैठकमा मात्र उनले स्वतन्त्र भनेर कोष्ठकमा लेखेका थिए । एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव जितेको, एमालेको संसदीय दलका बैठकमा सहभागी भएको, संसदले प्रमाणीकरण गरेका कागजातमा पनि एमालेकै सांसद रहेको उल्लेख भएकाले एमालेले उनलाई आफ्नो पार्टीका सांसद भन्दै आएको छ । उनले भने केही दिनदेखि आफू स्वतन्त्र सांसद भएको बताउँदै आएका छन् । उनलाई अहिलेको गठबन्धन सरकारले मन्त्रीसमेत बनाएको छ ।

नवनियुक्त मुख्यमन्त्रीले सदनमा सम्बोधन गर्ने र विश्वासको मत लिने बताइएपनि एमालेले आफूहरुको जायज माग सुनुवाई नभएसम्म सदन चल्न नदिने बताएको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका केसी यहीँ साउन २७ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।