अखिल नेपाल किसान महासंघ कपिलवस्तुद्धारा घोषणा पत्र जारी

मेचीकाली संवाददाता

६ आश्विन २०८०, शनिबार
234 shares

कपिलवस्तु । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कपिलवस्तुले ४९ शुत्रीय घोषणा पत्र जारी गरेको छ । जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा सम्पन्न जिल्ला स्तरिय कार्यशालाबाट उक्त घोषणा पत्र जारी गरिएको हो । नेपाल किसान ट्रयाक्टर समितिको सभाहलमा सम्पन्न कार्यशालाबाट कृषकका समस्याहरुको पहिचान गरि समाधानका उपायहरुको खोजी गरि घोषणा पत्र जारी गरिएको हो ।

जिल्ला भरीमा कृषि तथा पशुपालनमा देखिएका समस्या, सिंचाईको समस्या, राज्यबाट पाउने अनुदान लगायतका सेवा सुविधा वास्तविक कृषकले नपाउनु, स्थानीय तहले कृषि आधुनिकिकरणमा जोड नदिनु लगायतका समस्याहरुको खोजी गरि घोषणा पत्र जारी गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य ताराजन घिमिरेले सबै कृषकहरु महासंघमा गोलवद्ध हुनुपर्ने बताउदै कृषकहरु एकजुट नहुंदा सम्म राज्यले कृषिलाई प्राथमिकताका साथ नहेर्ने बताउनुभयो । उहाँले राज्यले दिने अनुदान वास्तविक कृषकहरुले नपाएको अवस्था रहेको भन्दै ठुला र पहुंचवालाले मात्र अनुदान नपाई साना किसानहरुले पनि पाउनुपर्ने बताउनुभयो । घिमिरेले किसानले पाउने हक अधिकारबाट बञ्चित नहुनका लागि गाउँगाउँमा कृषि समुह, कृषि सहकारी, निजी फर्म सञ्चालन गरि सेवा सुविधा लिनका लागि अनुरोध गर्नुभएको छ ।

त्यस्तै महासंघ लुम्बिनी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गिरीले जिल्ला कमिटीलाई अझ चुस्त दु्रस्त बनाउनुपर्नेमा जोड दिंदै कृषि क्रान्तीले मात्रै देशको समृद्धि सम्भव रहेको बताउनुभयो ।

नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्म शर्माले शुभकामना मन्तब्य राख्दै कृषिको माध्यमबाट देशको विकास गर्नका लागि महासंघ अझ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै कृषकहरुलाई महासंघमा गोलवद्ध गर्न आवश्यक रहेको बताउदै महासंघको माध्यबमबाट कृषकहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कपिलवस्तु जिल्लाको समग्र कृषिको अवस्था, आगामी कार्ययोजनाबारे कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल तथा पशुपंक्षी र माछा सम्बन्धी भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष रेशम बहादुर केसीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिंदै कृषिमा आधुनिकिकरणको आवश्यकता रहेको बताउनुभयो ।

महासंघमा आवद्ध जिल्लाभरीका कृषकहरुको उपस्थिती रहेको कार्यशाला जिल्ला कमिटी सदस्य राधा बेल्बासेको स्वागत मन्तब्य तथा सचिव नारायण प्रसाद पन्थीको सञ्चालमना सम्पन्न भएको थियो ।