माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता गर्ने तयारी

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
476 shares

काठमाडौं । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ ।

एमालेको माधव नेपाल पक्षका नेताहरू बानेश्वरस्थित अर्याल होटलमा भेला भएर नयाँ दल दर्ताका लागि हस्ताक्षर संकलन गरिरहेका छन् । नेता माधव नेपाल पनि हलमा उपस्थित छन् । नेपालकै नेतृत्वमा नयाँ दल दर्ताको तयारी भएको हो ।

आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्गठनको अन्तिम तयारीमा पुगेको बताएका थिए । पार्टी विभाजनका लागि नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्य मात्र तयार भएका छन् ।

नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र नयाँ दलको पक्षमा हस्ताक्षर गरेका स्रोतले बतायो । यसअघि नेपालको पक्षमा १२ जना स्थायी कमिटी सदस्य थिए ।

विगतमा नेपालनिकट मानिएका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र नेता रघु पन्त लगायतले पार्टी विभाजनमा सहयोग नगर्ने बताएका छन् । नेपाल पक्षले नयाँ पार्टीमा उपाध्यक्ष वामदेव गौतम पनि आउने दाबी गरेको छ ।