पैगम्बर जन्मोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइदै

मेचीकाली संवाददाता

७ आश्विन २०८०, आईतवार
200 shares

बुटवल । ईस्लाम धर्मावलम्बीहरुको धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्ललेलाहो अलैहे वसल्लमको १४९८ औ शुभ जन्मोत्सव (यौमे बिलादत) को अवसरमा बुटवलमा विविध रचनात्मक र पुजा कार्यक्रम गरी मनाईने भएको छ । बुटवलमा एक सय १० वर्षको ईतिहास बोकेको रजा ए मुस्तफा जामे मस्जिद समितिको आयोजनामा पैगम्बरको हजरतको जन्मदिनलाई सप्ताहब्यापी रुपमा बाह्र रबिउल अव्वल मुबारक, हाजिरीजवाफ, अपाङ्ग आश्रमलाई सहयोग लगायतका कार्यक्रम गरी मनाईने भएको हो । आइतबार पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष मुहमद ईस्माइलले ईस्लाम धर्मका बारेमा बुझाउने गरी प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको बताए । यो वर्ष सप्ताहब्यापी फरक कार्यक्रम गरी मनाईने उनले बताए ।

कार्यक्रम अन्तर्गत सोमबार बुटवलका पाच वटा ईस्लामिक अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, बुधबार नेपाल अपाङ आश्रम बुटवल देविनगरमा खाद्यान्न वितरण, साँझ विशेष मिलादुननबी कार्यक्रम र भोलिपल्ट बिहान जन्मजयन्तीको खुशियालीमा बिहिबार बाजागाजासहित बजार परिक्रम कार्यक्रम गरि समापन गरिने उनले बताए । संसारभर मानव हितमा अग्रसर हुन र बिसंगति, बिकृतिलाई हटाउने गरी दुतका रुपमा पैगम्बरको जन्म भएको भन्दै उनको वर्षभरि नै संस्कार, संस्कृति र सामाजिक हितका धेरै कामहरु गर्दै आएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमत, कोषाध्यक्ष जलिल मिया, सचिव जनुर वारसी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिश्वास ढकालले यो महत्वपूर्ण दिनको महिमालाई समाजमा बुझाउने गरि उदाहरणीय कार्य भएको बताए । मस्जिदमा नया पुस्तालाई ईस्लाम धर्मको बारेमा ज्ञान दिने गरी शैक्षिक कार्यक्रम संचालन गर्दै आएको समितिका महासचिव गफुर मियाले बताए । स्थानीय सरकार र समुदायका अगुवाको सहयोगमा मस्जिदमा ईस्लाम धर्म शिक्षा दिने काम गर्दै आएको उनले बताए । प्राथमिक विद्यालयको स्वीकृती पाएको मदरसामा २० जना क्षमता रहेको छात्राबाससहित ६० जना अध्ययरत छन् । जहाँ ३ जना धार्मिक गुरुहरु र एक जना ईङलिस र नेपाली अध्ययापन गराउने शिक्षक छन् । हाल बुटवल उपमहानगरपालिकामा ५ हजार ईस्लाम धर्मावलम्बीहरु समुदायमा रहेका छन् ।