भैरहवा । लुम्बिनी विकासकोषभित्रका गुम्बाहरुमा होटल सरहको सुविधा दिएर सञ्चालन गर्ने वातावरण नबनाउन लुम्बिनी क्षेत्रका होटल व्यावसायीहरुले आग्रह गरेका छन् । करोडौँ लगानी गरेर होट व्यावसायीहरुले सेवा दिँदा गुम्बाको नाममा व्यवसाय गर्न नपाइने उनीहरुले बताएका छन् ।
लुम्बिनी होटल संघ नेपालको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा बोल्दै लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कुनै पनि हालतमा कोषभित्र गुम्बाको नाममा होटल सञ्चालन गर्नु नहुने र कोषले गलत काम गरे आन्दोलनमा जाने चेतावनी दिए । लुम्बिनी विकास कोषभित्रका गुम्बाहरुमा होटल सरहको सुविधा दिएर सञ्चालन गर्ने र व्यवसायी जस्तै करको दायरामा ल्याउने भए सबै होटल व्यवसायीलाई विकास कोषले ठाँउ दिनुपर्ने उनले बताए ।
सो अवसरमा बोल्दै अध्यक्ष ज्ञवालीले बैंकको ज्यादतीका कारण होटल व्यवसाय डुब्ने स्थितिमा गएको बताए । मुलुकमा आर्थिक संकट हँुदा पनि बैंकको ज्यादती कायम रहेकोले होटल लिलाम भएको र हुने क्रममा रहेको उनले बताए । बैंकले लगानी गर्ने समयमा तोकेको व्याजदरभन्दा दुईगुणासम्म बढाउँदै जादा बैंकको कठोर नियमले पर्यटन व्यवसायीहरु धरासायी हँुदै गएकोले अहिले बैंक व्याज तिर्ने अवस्थासमेत नरहेको ज्ञवालीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको अवस्था जर्जर रहेकोले समस्या समाधान गर्न हरेश नखाई आर्थिक विषयमा संवाद गर्न जरुरी रहेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखाएर निजी क्षेत्रले धेरै लगानी गरकोमा अहिले लगानी डुब्ने स्थितिमा रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जुन उद्देश्यले निजी क्षेत्रले पर्यटन व्यवसायमा लगानी गरेको छ अहिलेसम्म प्रतिफल प्राप्त नभएको बताए । राष्ट्र बैंकको ऐन नियम नै कठोर बनाएकोले निजी क्षेत्र अगाडि बढ्ने स्थिति नरहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले देशलाई उद्योगी व्यवसायीले जोगाएको बताउँदै उनीहरुको संरक्षण गर्न सरकारको दायित्व रहेको बताए । व्यवसायीहरुको समस्या समाधानका लागि आफू पनि साथ दिन तयार रहेको उनले बताए । भारतीय पर्यटक र तेस्रो मुलुकको पर्यटकहरुलाई समान व्यावहार गर्न उनले आग्रह गरे ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराईले लुम्बिनीमा पर्यटकको आगमन बढेकोले पर्यटन क्षेत्रमा सुधार भएको देखिएको बताए । स्थानीयसँग लुम्बिनी विकास कोषको सहकार्य गर्न नीतिगत व्यव्स्थापन गर्न लागिएको बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख राजेन्द्र जयसवालले पर्यटकहरु सिधै लुम्बिनी विकास कोष जाने र फर्किने गरेकोले स्थानीयले यसको लाभ लिन नसकेको बताए । पर्यटन व्यावसायी हेम विष्टले सरकारले आध्यात्मिक क्षेत्रमा खासै लगानी नगरी भौतिक र पूर्वाधार क्षेत्रमा मात्रै लगानी गरेको बताए ।
गैडहवा गाँउपालिकका अध्यक्ष सुरेन्द्र पौडेलले मायादेवी मन्दिर परिसरमा व्यवस्थापन राम्रो गरेर, पर्यटकलाई सहज र आकर्षित हुने माहोल बनाउन आग्रह गरे ।
होटल संघको अध्यक्षमा पुनः ज्ञवाली
लुम्बिनी होटल संघको अध्यक्षमा दोस्रो कार्यकालको लागि गोविन्दप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । दुईवर्षे कार्यकालका लागि संघको वरिष्ठ उपाध्यक्षमा लिलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरणप्रसाद कँडेल, सचिव भुपेन्द्र गुरुङ्ग र सहकोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्वाचित भएका छन् । यस्तै सदस्यमा टीकाकुमारी कट्टेल, पदमा न्यौपाने, दिपक पङ्गेनी, एकराजकण्डेल (सागर), कृष्ण बहादुर, जगत थापा, धिरज भण्डारी र प्रदिप भट्टराई निर्वाचित भएका छन् ।