चाडपर्व नजिकिएसँगै कपिलवस्तुमा बजार अनुगमन तीव्र

मेचीकाली संवाददाता

१२ आश्विन २०८०, शुक्रबार
447 shares

पार्वती आचार्य

कपिलवस्तु । चाडपर्वलाई लक्षित गरी कपिलवस्तु जिल्लामा बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाईएको छ । नियामक निकायहरुको नियमित कार्यक्रममा अनुगमन गरिंदै आएको भएपनि यस पटक सबै निकायहरु सम्मिलित भई समन्वयात्मक रुपमा अनुगमन गरिएको छ । चाडपर्वको समयमा अस्वभाविक मूल्यबृद्धि , अखाद्य बस्तुको बिक्रिवितरण , म्याद गुज्रिएका सामान बिक्रि जस्ता कारणबाट उपभोक्ताहरु ठगिन सक्ने अवस्थालाइृ मध्येनजर गर्दै जिल्ला सदरमुकाम तौलिहवा लगाएत बिशेष गरी बढी कारोवार हुने बजार क्षेत्र एवं ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन गरिएको अनुगमन टोलिले जानकारी दिएको छ ।

गत सोमबार तौलिहवाको बजार क्षेत्रभित्र संचालन गरिएका बिभिन्न दुई दर्जन भन्दा बढी पसलहरुमा अनुगमन टोलिले अनुगमन गर्दा अखाद्य तेलको प्रयोग , म्याद गुज्रिएका सामानहरु, सरसफाईमा कमी, मूल्य सूची नराखेको तथा दर्ता नगरी संचालन गरिएको पाईएको थियो ।

त्यस्ता पसलहरुमा फेला परेका अखाद्य तेल एवं म्याद गुज्रेका सामानहरु तत्कालै नष्ट गरिएको छ । यस्तै मापदण्ड विपरित संचालन गरिएका कतिपय पसलहरुलाई आवश्यक जरिवाना तथा सुधारकालागि निर्देशन गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाको गोरुसिंगे र ईमिलिया , शिवराज नगरपालिकाको चन्द्रौटामा गत बुधबार तिन दर्जन भन्दा बढी पसलहरुमा अनुगमन गरिएको छ । जस्तै ः बेकरी , नास्ता पसल , मिठाई पसल , होटल , किराना , एग्रोभेट , दुध देरीमा अनुगमन तथा निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा एक बेकरी उद्योगले प्याकिङ् गरेको सामानमा पछाडिको मिती उल्लेख गरि पहिल्यै प्याकिङ् गरेका केहि सामाग्री नष्ट गरिएको थियो । यसैगरी स्वीकृत बिना संचालन गरिएका केही एग्रोभेट र पसलहरुलाई कारवाही गरिएको थियो । पहिला अनुगमन गरिएका केही पसलहरुमा अनुगमन गर्दा सुधार भएको पाईएको अनुगमन टोलिको भनाई छ ।

शिवराज नगरपालिकाको चन्द्रौटा स्थित हाट बजारमा अनुगमन टोलिले अनुगमन गर्दा अव्यवस्थित रुपमा माछामासु बिक्रि गरेको पाईएको थियो भने फोहोर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको हाट बजार व्यवसायीहरुको भनाई छ । यस्तै व्यवसायीको भनाइृ अनुसार कतिपय व्यक्तिले गैर कानुनी रुपमा बजारमा अप्रमाणित विउविजन तथा बिषादी बिक्रि बितरण गरेको र यस सम्बन्धमा आवश्यक नियमनका लागि अनुगमन टोलि समक्ष गुनासो गरेको अनुगमन टोलिको भनाई छ ।

प्रभावकारीताका लागि समन्वयात्मक रुपमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नासु बाबुराम शर्मा , कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेल , घरेलु तथा साना उद्योग कपिलवस्तुका प्रमुख प्रेम बहादुर गौतम , भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख बिस्नु प्रसाद खनाल , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख रमेश दाहाल , सम्बन्धित पालिकाका प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।

जिल्लाका सबै स्थानहरुमा अनुगमन टोलिले अनुगमन गर्ने तथा कानुन र मापदण्ड विपरित संचालन गरेको पाईएमा कडा कारवाही गर्ने अनुगमन टोलिका सदस्य बाबु राम शर्माले बताउनु भयो । गृह मन्त्रालयले आम उपभोक्ताहरु नठगिउन र स्वच्छ तथा गुणस्तर सामान सुपथ मुल्यमा उपभोग गर्न पाउन भन्ने उद्देश्यले कडाईका साथ अनुगमन गर्न निर्देशन भए अनुसार अनुगमनलाई तिब्रता दिएको हो ।