सोह्र श्राद्धः कृतज्ञताको पर्व !

मेचीकाली संवाददाता

१३ आश्विन २०८०, शनिबार
1774 shares

घनश्याम कोइराला

संस्कृति मानव संस्कारबाट विकसित हुने सकारात्मक परिणति हो । यसमा तथ्य हुन्छ, तथ्यभन्दा बढी मान्यता हुने देखिन्छ । जस्तैः मानिसहरूले राज्यलाई कर तिर्ने विषय, ऋणसापटी तिर्ने विषयका नियमकानुन छ । कानुबमोजिम तिर्ने वा लिने, दिने गरिन्छ । यसमा अभ्यस्त हुनु र सोअनुसार गरिरहनु राम्रो काम(सत्कर्म वा ‘सम्’कर्म) हो । यसले राज्यप्रतिको दायित्व बुझाउँछ ।

यसरी तिर्ने संस्कृति विकास हुन्छ । तर, कुनै बोलकबोल, बिना कुनै सर्त, बिना कुनै स्वार्थ हाम्रा लागि केही सोची दिने, गरिदिने, जीवनभरि सकारात्मक भाव राखिरहने जन्मदाता र जन्मदाताका पनि जन्मदाताका विषयमा हामी कृतज्ञ हुन पर्ने कि नपर्ने ? पर्ने हो भने त्यो के हो ? त्यो कसरी हुन्छ ? यसबारे कुनै सोच, कुनै कर्म, कुनै दिन निश्चित हुन पर्ने कि नपर्ने ? यो जीवित छँदा केही नगर्ने वा वृद्धआश्रम लगेर छोड्ने, मरेपछि चौरासी व्यञ्जन भनेर टार्ने विषय होइन, अपितु यस्तो कर्मले जीवित छँदा मात्र होइन, जीवनपश्चात् पनि बिर्सनुहुँदैन, मानिस मरेर गए पनि योगदान मरेर जाँदैन । योगदान बिर्सनेहरू त कृतघ्न हुन् । यस कारण पनि धरालीन भइसकेका (मरेर गएका) अग्रजहरूको सम्मान र सम्झनामा केही गर्नु अन्धविश्वास होइन । बरु अन्धविश्वास त केही नगर्नु, उनीहरूलाई सम्झँदै नसम्झनु पो हो त !

पितृ पर्वका रूपमा प्रचलनमा रहिआएको सोह्र श्राद्ध आजदेखि प्रारम्भ भएको छ । असोज कृष्ण पक्षको प्रतिपदादेखि दिन औँसी सम्मको यो पन्ध्र दिनको अवधिलाई सोह्र श्राद्ध या महालय श्राद्ध मानिन्छ । सामान्य बुझाइमा सोह्र श्राद्ध भनेको सोह्र वटा तिथिको विषय हो जस्तो लाग्दछ । पूर्वीय काल गणना अनुसार पन्ध्र दिनको पक्ष हुने भए पनि तिथि भने सोह्र वटा हुन्छन् । ती सोह्र तिथि हुन्–१.प्रतिपदा (परेबा), २.द्वितीया, ३.तृतीया, ४.चतुर्थी (चौथी), ५.पञ्चमी, ६.षष्ठी, ७. सप्तमी, ८.अष्टमी, ९.नवमी, १०. दशमी, ११. एकादशी, १२. द्वादशी, १३. त्रयोदशी, १४.चतुर्दशी, १५.अमावस्या (औँसी) १६.पूर्णिमा । अङ्क÷सङ्ख्यामा लेख्दा पूर्णिमालाई १५ र औँसीलाई ३० लेखिन्छ । तर, पूर्णिमा तिथि सोह्र श्राद्धभित्र पर्दैन । पूर्णिमाको दिन निधन भएकाहरूको महालय श्राद्ध (सोह्र श्राद्ध) कहिले गर्ने भन्ने विषयमा जानकारहरूबिच एकमत देखिँदैन ।

श्राद्ध शब्दको बनोट हेर्दा यो कर्म दिवङ्गत–मृत्यु भइसकेका मानिसहरूका लागि गरिने कर्म हो भन्ने देखिँदैन । तर, व्यावहारिक रूपमा भने श्राद्ध भनेको मृत्यु भइसकेका पिता, पूर्वज, पुर्खाहरूको स्मृति र सम्मानमा गरिने कृतज्ञताको विषय हो भन्ने देखिन्छ । जीवित छँदा त सँगै सोधिन्छ, बोलिन्छ, ढोगिन्छ र सम्मान प्रकट गरिन्छ । मृत्यु भएकाहरूलाई यसरी प्रत्यक्ष भेटघाट गर्न नसकिने हुँदा सम्मानसहित सम्झना गर्नुको विकल्प देखिँदैन । वास्तवमा यसलाई सही ढङ्गले बुझ्ने हो भने श्राद्ध जस्तो कृतज्ञताको कार्य तथा यसका लागि निर्धारित गरिएको पर्वका दिनलाई अन्धविश्वास भन्ने कुनै ठाउँ नै छैन ।

प्रकृतिले मानिस बनायो । मानिसबाट समाज बन्यो । समाजका लागि आवश्यक नियम र संस्कृति मानिस रहेकै समाजले बनायो । नियम र संस्कृति बन्ने–बनाउने क्रम चलिरहन्छ, यसको अन्त्य कहिल्यै हुँदैन । कतिपय तात्कालिक नियमहरू सुधारिन्छन्, सुधारिने पर्ने हुन्छन्, त्यसका आधारभूत पक्षहरू कालान्तरमा संस्कृतिमा रूपान्तरित हुन्छन्, कतिपय नियमहरू चलनचल्तीबाट सदाका लागि ओझेल पर्दछन् । हाम्रो संस्कृतिमा पनि यस्तो हुन्छ, हुनुपर्दछ र हुँदैआएको पनि छ । परिस्थिति र परिवेशमा आउने परिवर्तन स्वाभाविक हो, यसले मानिसको चेतनामा परिवर्तन ल्याइदिन्छ । चेतनामा आउने वा आएको परिवर्तनले व्यवहारमा परिवर्तनको माग गर्दछ र त्यही व्यवहारले नै सामाजिक सांस्कृतिक परिवर्तन हुँदै जाने हो ।

तिनै पुराना नियमहरूमध्येको एउटा नियम, जो संस्कृति बनेर रहेको छ र त्यो हो– श्राद्ध । सांस्कृतिक शास्त्रका हिसाबले श्राद्ध मूलतः दुई प्रकारको हुने बताइएको छ– एकोद्दिष्ट र पार्वण या महालय । एकोद्दिष्ट त्यस्तो तिथि श्राद्ध हो जो मानिस मरेकै महिना, पक्ष र तिथिमा गरिन्छ । तर, महालय श्राद्ध भने हाम्रो दसैँ सुरू हुने घटस्थापनाभन्दा ठिक १५ दिन पहिले प्रारम्भ । यसलाई सोह्र श्राद्ध भनिने कुरा माथि नै उल्लेख गरिसकिएको छ । सोह्र श्राद्धको श्राद्ध पिताको मृत्यु भएको तिथिमा गरिन्छ । भनिन्छ– अन्य सबै पितृहरूलाई पनि यसै दिन श्रद्धापूर्वक सम्झना गरिन्छ । हामी दसैँ मान्ने संस्कृति भएकाहरूले सोह्र श्राद्ध भनिए पनि प्रतिपदादेखि औँसीसम्म जम्मा १५ दिन मात्र हुन्छ, सोह्र श्राद्ध किन भनिएको होला भन्ने प्रश्न धेरैका मनमा उब्जन्छ । यस विषयका जानकारहरूका अनुसार यी १५ दिनभित्र आउने नवमी आमासँग सम्बन्धित विशेष दिन हो । त्यसैले यस नवमीको दिनलाई मातृनवमी, अविधवा नवमी भनिएको छ ।

विद्वान्हरूका अनुसार ‘आमातर्फका हजुरआमा र हजुरआमाको आमालाई तीन पिण्ड दिएर एकपार्वण श्राद्ध गर्नुपर्दछ भनिएको छ । आफ्नी आमा जीवित हुँदै सौतिने आमाको मृत्युभएको छ भने पनि ती सौतिने आमा, हजुरआमा र जिजुहजुरआमालाई तीन पिण्ड दिएर श्राद्ध गर्नुपर्दछ । पतिभन्दा पहिले मृत्यु भएका मातामही दिदीबहिनी छोरी सानिमा ठुल्यामा फूपु आदि पितृकुलमा र मातृकुलमा उत्पन्न भएका सबै सधवा अवस्थामा मृत्यु भएका र छोरा नहुने महिलाहरूको पनि सधवा अवस्थामा मृत्यु भएका छोरा नहुने महिलाहरूको श्राद्ध भएकाले यसलाई अविधवानवमी श्राद्ध पनि भनिन्छ । पिता जीवित हुँदै आफ्नी श्रीमतीको मृत्यु भएको तर छोरा र सौतिने छोरा पनि छैनन् भने पत्नीलाई पनि यो श्राद्धमा पिण्ड दिएर श्राद्ध गर्नुपर्दछ । श्रीमानले मातृनवमीमा श्रीमतीको श्राद्ध गर्दा एकोद्दिष्ट विधिले गर्नुपर्दछ ।’ (तोयराज नेपाल, हिमालय टाइम्स, २०७९)

हामीले देशका लागि ज्यान नै अर्पण गर्ने सहिदहरूको सम्झना र सम्मानका लागि सहिद सप्ताह मनाएजस्तै जस्तै यो १५ दिनको पितृ पक्ष–सोह्र श्राद्ध मनाउनु अग्रज तथा पूर्वजहरूको सम्मान र स्मरण गर्ने संस्कृतिको आधार हो । पुराना कुरा, विगतका योगदान, योगदानकर्ताहरूलाई बिर्सँदै जाने हो भने हाम्रो समाज कृतघ्न अराजकहरू बैगुनीहरूको क्रीडास्थल मात्र रहन सक्दछ ।

कृतज्ञ हुने, सम्मान गर्ने संस्कृति र सभ्यता समेत सिकाउने सर्जकहरूलाई सम्मान गरौँ । अग्रज तथा पूर्वजहरूलाई सम्मान गरौं र आफू पनि सम्मानित होऔं । पाखण्ड र अन्धविश्वासबाट मुक्त हुँदै असल संस्कृति अवलम्बन गर्दै अघि बढौँ ।
हामीलाई जन्माउने, हुर्काउने, पढाउने, नाम, थर,गोत्र आदिको पहिचान दिने, आफ्नो खुट्टामा उभिन सक्ने बनाउने हाम्रा बा–आमा धन्य हुन्, उनीहरू स्मरणीय र आदरणीय छन् । दसैँमा म ससुराली जान्छु, मेरी श्रीमती माइत जान्छिन्, मेरा छोरी र छोरा मावल जान्छन् । यसरी हामी सबै सुखमय र आनन्दको वातावरणमा रमाउने गर्दछौँ । यसको पूर्व समयमा म मेरा बा, आमा, वहाँहरूका बा–आमा र सम्बन्धित सबैलाई श्रद्धापूर्वक स्मरण गर्नु, उहाँहरूप्रति नतमस्तक हुनु र कृतज्ञ हुँदै आभार प्रकट गर्नु मेरो कर्तव्य हो ।

मरेका मानिसलाई अर्पण गरिने पिण्डपानी उनीहरूले प्राप्त गर्ने कुनै वैज्ञानिक आधार छैन । खाने–लाउने, औषधीउपचार चाहिने भनेको जीवित छँदा हो । जीवित छँदा खान–लाउन नदिने, औषधी उपचार नगर्ने, माया नगर्ने, उचित हेरबिचार र स्याहारसुसार नगर्ने, मरिसकेपछि वर्षमा २ पटक खिर पकाएर डल्लो पार्दै खोलामा बगाउने मात्र गरिन्छ भने त्यस्तो कार्य अर्थहीन र औचित्यहीन पाखण्डी काम हो । तर, श्राद्धको अन्तर्वस्तु पाखण्डी होइन र छैन । पुरानो विषय परम्परागत रूपमा चलिआएको हुनाले अहिले पत्यार लाग्ने खालको नहुनु स्वाभाविक हो । यसले दिन खोजेको सन्देशको मूलमर्म कृतज्ञता हो । (संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)