क्रिकेटमा फेरि थपिएला नेपालको कीर्तिमान ?

मेचीकाली संवाददाता

१४ आश्विन २०८०, आईतवार
169 shares

अमृत गिरी
बुटवल । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा बिरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ । आज (आइतबार) नेपालले अर्को प्रतिस्पर्धी मुलुक माल्दिभ्ससँग खेल्दैछ ।
भनिन्छ, क्रिकेटमा असम्भव जस्तै लाग्ने आश्चर्यजनक नतिजा पनि आउँछ । यो खेलमा पनि नेपालले अर्को विश्व कीर्तिमान बनाउँछ वा हौसिएर आफ्नै कीर्तिमान कमजोर बनाउँछ त्यो आज देखिने छ ।

सन् २०२२ मा हुने एसियन खेल कोभिडका कारण एक वर्ष पछि सरेको हो । चीनमा जारी खेलमा नेपालले क्रिकेट बाहेक सबै खेलमा निराशाजनक प्रदर्शन गरेको छ । पुरुष क्रिकेटतर्फ भने नेपालले हालसम्म कीर्तिमानी प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्म टि–२० विश्वकपबाहेक एकदिवसीय विश्वकप खेल्न पाएको छैन । एसोसिएट राष्ट्रका रुपमा रहेको नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालै मंगोलियाविरुद्ध कैयौं किर्तिमान बनाएपछि नेपाली युवा क्रिकेटरको चर्चा चुलिएको छ । छिमेकी मुलुक भारतका मिडियाहरुमा र भारत–अष्ट्रेलियाको खेलका बीचमा पनि कमेन्टेटरहरुले नेपाली क्रिकेटले पाएको किर्तिमानकै चर्चा गरेका थिए ।

नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको थियो । यसबिचमा नेपाली क्रिकेटले अनेक आरोहअवरोह पार गरेको छ । हालैको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली क्रिकेटले बिरलै पाइने विश्व कीर्तिमान बनाएको छ । नेपालले बनाएको अहिलेको कीर्तिमान तोडिन लगभग मुस्किल देखिन्छ । २७ वर्षे क्रिकेट इतिहासमा नेपालले बनाएका विश्व कीर्तिमानहरुको अहिले खुबै चर्चा भएको छ ।

१९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटमा समूह ‘ए’ रहेको नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेको थियो भने आज अर्को मुलुक माल्दिभ्ससँग खेल्दैछ । तुलनात्मक रुपमा माल्दिभ्स कमजोर टिम मानिए पनि उसले पनि यसअघिको एक खेल जितेको छ । नेपाल र माल्दिभ्सको समान दुई÷दुई अङ्क छ । तर, नेट रनरेटमा नेपाल दोब्बरभन्दा धेरैले अगाडि छ ।
समूह ‘बी’ मा कम्बोडिया, जापान र हङकङ रहेका छन् । समूह ‘सी’ मा मलेसिया, सिंगापुर र थाइल्यान्ड रहेका छन् । यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणमा शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा स्थान बनाउने छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रतियोगिताअन्तर्गत असोज १६ र १७ गते क्वाटरफाइनल, १९ गते सेमिफाइनल र असोज २० गते फाइनल खेल हुने तालिका छ ।

उत्साहित नेपाली क्रिकेटर
नेपालले यसअघिको खेलमा मंगोलियालाई सबैभन्दा ठूलो अन्तरले पराजित गर्दै रेकर्ड समेत बनाएको थियो । नेपालले मंगोलियालाई २७३ रन अन्तरले पराजित गर्दै इतिहासकै फराकिलो रन अन्तरले जित हासिल गरेको छ । यस अघि टी–२० खेलमा चेक रिपब्लिकले टर्कीलाई २५७ रन अन्तरले पराजित गरेको रेकर्ड थियो ।
नेपालले सोही खेलमा कुल २६ छक्का प्रहार गरेर अर्को रेकर्ड बनाएको थियो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा र वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा २२–२२ छक्का प्रहार गरेका थिए ।

सबैभन्दा धेरै रनको किर्तिमान बनाएको नेपाल उत्साहित छ । १९औं एसियाली खेलकुदमा कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङमा ३१४ रन बनाएको नेपालले टी–२० क्रिकेटको इतिहासमै सर्वाधिक रन बनाएर नयाँ किर्तिमान बनायो । यो टी–२० इतिहासकै अहिलेसम्मको उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा सर्वाधिक २७८ रन बनाएको थियो । भने २०१९ मै चेक रिपब्लिकले टर्कीविरुद्ध पनि २७८ रन बनाएको थियो ।

चर्चामा बुटवलका खेलाडी कुशल मल्ल
यसअघिको खेलमा कीर्तिमानी शतक प्रहार गरेका बुटवलका कुशल मल्ल अहिले चर्चामा छन् । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका मल्लले अहिले ३४ बलमा शतक प्रहार गरेर फेरि नयाँ किर्तिमान बनाएका छन् । उनले सन् २०२० मा आईसीसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा १५ वर्षको उमेरमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । यसअघि नेपालका रोहितकुमार पौडेलले १६ वर्ष १ सय ४६ दिनमा युएईविरुद्ध अर्धशतक बनाउँदै सचिन तेन्दुलकर र साहिद अफ्रिदिको कीर्तिमान भङ्ग गरेका थिए ।

अहिले जारी एसियाली खेलकुदमा मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन अविजित बनाएर कीर्तिमान कायम गरे । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए । कुशल टी–२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनको पनि अहिले विश्वका धेरै देशमा चर्चा चुलिएको छ । यसअघि टी–२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । जसमा भारतका स्टार खेलाडी रोहित शर्मा, दक्षिण अफ्रिकाका आक्रामक क्रिकेटर डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेको रेकर्ड थियो ।

के गर्लान् दिपेन्द्रसिंह ऐरीले ?
नेपालका अर्का युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गरेर विश्व किर्तिमान बनाएपछि विश्वमा चर्चा चुलिएको छ । खासगरी भारतीय मिडियाहरुले त्यहाँका विष्फोटक ब्याट्सम्यान युवराज सिंहको रेकर्ड भङ्ग भएको भन्दै नेपाली खेलाडीको चर्चा गरेका छन् । १९ औं ओभरमा ५ छक्का प्रहार गरेका दिपेन्द्रले भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतक बनाएको विश्व कीर्तिमान तोडेका हुन् ।