नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको लक्ष्य

मेचीकाली संवाददाता

१४ आश्विन २०८०, आईतवार
188 shares

बुटवल । नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ ।

हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल ४७ रनमा अविजित रहे ।

कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन जोडे । आसिफ शेख र दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेट किपर विनोद भण्डारी १३ रनमा आउट भए । त्यस्तै, सन्दीप जोरा ५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए । माल्दिभ्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए ।

टी–२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।

माल्दिभ्सको पहिलो रोजाइको टोली भने एसियाडमा सहभागी छैन । टी–२० वरीयतामा नेपाल १६औँ र माल्दिभ्स ७८औँ स्थानमा छ । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म दुई वटा टी–२० खेल भएकोमा नेपाल विजयी भएको थियो ।