बुटवलको विकास मेयरले रोकेको एमालेको आरोप

मेचीकाली संवाददाता

१७ आश्विन २०८०, बुधबार
257 shares

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नगरप्रमुख पाण्डेयले राजनितिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेका दर्जन बढी योजनाहरु अलपत्र पार्ने काम गरेको र बुटवलको योजनाबद्ध तथा दीर्घकालीन विकासको अवधारणलाई बेवास्ता गरेकोप्रति आपत्ति जनाएको छ ।

नेतृत्वको पूर्वाग्रहपूर्ण सोचका कारणले शिवनगर सामुदायिक वन क्षेत्रमा निर्माण भई सञ्चालनमा आएको नन्दनी गौशाला बन्द भएको भन्दै तत्काल सञ्चालनमा ल्याई छाडा चौपाया व्यवसथापन गर्न माग गरेको छ । भूमि कर शुल्कमा व्यापक सहुलियत र राहत प्रदान गर्न तथा भूउपयोग योजनाको पुनरावलोकन गर्न, अव्यवस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि ठोस पहलकदमी लिन एमालेले माग गरेको छ ।

ज्ञापनपत्र बुझाएपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले नगर अध्यक्ष किसन ज्ञवालीले मेयर पाण्डेयमा एमाले फोबिया हावी भएको र उनका व्यवहार स्वेच्छाचारी र निरंकुश बन्दै गएको आरोप लगाए । कर्मचारीहरुमाथि अपमानजनक र दुव्र्यवहार मेयर पाण्डेयबाट भएको भन्दै यस्ता गतिविधि रोक्न ज्ञवालीले आग्रह गरे । एमाले नगर सचिव मेघराज भट्टराईले विधि, पद्धति र प्रणाली कुल्चेर मेयर पाण्डेयले राजनीतिक पुर्वाग्रहका आधारमा बुटवलको विकासमा असर पर्ने गरी अघि बढेकाले यस्तो गतिविधि नसच्याए एमाले कडा ढंगले प्रस्तुत हुने चेतावनी दिए ।