मनसुन बाहिरिने बेलामा लगातार झरी

जनजीवन कष्टकर, किसानलाई मर्का, अझै एक साता धान नकाट्न आग्रह

मेचीकाली संवाददाता

१७ आश्विन २०८०, बुधबार
345 shares

बुटवल। जलवायु परिवर्तनका असरहरु छिटोछिटो र गम्भीर रुपमा देखिन थालेका छन् । खेती लगाउने समयमा कतै एकदमै धेरै वर्षा हुने, कतै पानी नै नपर्ने, खेती स्याहार्ने मौसममा एक्कासी पानी पर्ने र फसल नै बिगार्नेगरी झरी लाउने गरेको छ ।
अहिले तीन दिनदेखि झरी लागेको छ । मनसुन बाहिरिने बेलामा बाढी, पहिरोको प्रकोप निम्तने गरी असौजे झरी लागेपछि जनजीवन कष्टकर बनेको छ । नेपालमा सामान्यतः अक्टोबर २ तारिखसम्म मनसुन बाहिरिइसक्ने हो । तर, अहिले तीन दिन ढिला भइसक्दा पनि मनसुन उस्तै सक्रिय छ ।

गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ । सबैभन्दा बढी पाल्पाको अर्चले र कुमालगाउँमा २०० मिलिमिटर वर्षा मापन भएको थियो । झरीले धान काट्न ठिक्क परेका किसानहरुलाई सताएको छ । कतिपय किसानको त काटेको धान डुबाएको छ भने पाकेको धान ढालेर डुबाइदिएको छ ।
झरीले जनजीजवन कष्टकर बनाएको छ । सबैभन्दा धेरै मारमा आम किसानहरु परेका छन् । मनसुनी प्रणाली विस्थापित हुने बेलामै झन् सक्रिय भएपछि देशैभरि झरी लागेको मौसमविद्हरुले बताएका छन् । यस्तो झरी बिहीबार बेलुकादेखि कम हुने अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दुई दिनअघि नै तीन दिनसम्म लगातार झरी पर्ने प्रक्षेपण गर्दै बालीनाली नकाट्न सूचित गरेको थियो । मौसम पूर्वानुमान अचेल मिल्दै गएको अवस्था छ । वरिष्ठ मौसमविद् वरूण पोखरेलले बिहीबार बिहानदेखि मौसममा क्रमिक सुधार आउने बताएका छन् ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको उनको भनाइ छ । यो भनेको झरी लाग्ने अवस्था हो । यसका अतिरिक्त नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले पनि झरी लागेको हो । कतै कतै त दुई दिनदेखि भारी वर्षा भइरहेको छ । वर्षाले विभिन्न ठाउँमा आवागमन प्रभावित भएको छ, किसानको धान डुबाएको छ भने जनजीवन कष्टकर बनाएको छ ।

पश्चिमबाट क्रमशः खुल्दै आउने र बिहीबार शुक्रबारसम्ममा मौसममा सुधार अउने मौसमविद्को भनाइ छ । यसै हप्ताभित्र मनसुन बाहिरिने पनि अनुमान गरिएको छ यद्यपि मनसुन अझै कमजोर भने भइसकेको छैन । बिहीबार पनि मुलुकका विभिन्न स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आंशिकदेखि सामान्य बदली रहने र हल्का देखि भारी वर्षाका सम्भावना कायमै रहेको बताइएको छ । शुक्रबार रातिदेखि आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने र शुक्रबार बेलुका सम्म धेरै स्थानमा सुधार आउने छ ।

अझै एक साता धान नकाट्न आग्रह
मौसमविद्हरुले मनसुन बहिरिने समयमै सक्रिय भएको र अझै केही समय कमजोर नहुने अवस्था रहेको भन्दै एक साता जति धान नकाट्न आग्रह गरेका छन् । एक–दुई दिन मनसुनी प्रणाली देखिने हुँदा यो साता बाली काट्नु उपयुक्त नदेखिएको वरिष्ठ मौसमविद् पोखरेलको भनाइ छ । भारतको उत्तराखण्ड, गुजरात, राजस्थानलगायत ठाउँबाट मनसुन बाहिरिन सुरू गरिसके पनि नेपालमा तत्कालै कमजोर देखिएको छैन ।

सामान्यतः पश्चिमी वायुले पूर्वी (मनसुनी) वायुलाई धकेल्दै लैजान थालेपछि मनसुन बाहिरिने क्रम सुरू हुन्छ । केही दिनका लागि नेपालमा यो सम्भावना नरहेको बताइन्छ । नेपालमा मनसुनी वायु अरबियन सागरबाट बंगालको खाडी हुँदै पूर्वबाट प्रवेश गर्छ । यस वर्ष गत जुन १३ (जेठ ३२) मा मनसुनी प्रणाली नेपाल भित्रिएको थियो भने नेपालभर फैलन एक साता लागेको थियो ।