फूलबारी सामुदायिक वनको साधरणसभा सम्पन्न

मेचीकाली संवाददाता

२१ आश्विन २०८०, आईतवार
212 shares

रामबहादुर गन्धर्व

कपिलवस्तु । बाणगंगा नगरपालिका–७ मोतिपुरस्थित फूलबारी सामुदायिक बन उपभोक्ता समूहको २१ औं साधरणसभा शुक्रबार सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले साधरणसभाको उदघाटन गरे । सो अवसरमा बोल्दै उनले सामुदायिक वन समाजको गहना भएकोले वनको संरक्षणमा सम्पूर्ण उपभोक्ता एक भएर लाग्नुपर्ने बताए । वनको ४० प्रतिशत रकम वन विकासमा र ३० प्रतिशत महिला सिप विकास तथा स–शक्तिकरणमा खर्चिनुपर्ने बनको नयाँ नियम लागू भएको हुँदा स्थानीय तहसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै साधरणसभामा बोल्ने वक्ताहरूले सामुदायिक वनले गरेका उदाहरणीय विकास निर्माणका कार्यको प्रशंसा गर्दै छाडा चौपाया व्यस्थापन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे । वनले विपन्न, निम्न आयस्तर भएका आयआर्जनका लागि सहुलियत ब्याजदरमा ऋण प्रवाह गरी आयमूलक कार्यमा टेवा पु¥याएको छ । लेखा समिति संयोजक झगेश्वर अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा समूहमा ३१ लाख ६४ हजार १७१ आम्दानी भएको बताए । त्यस्तै समूहका कोषाध्यक्ष अमरबहादुर गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २ करोड ५९ लाख १८ हजार आयव्ययसहित आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि अनुमानित २ करोड ६२ लाख ९५ हजार बराबरको बजेट पेश गरेका थिए ।

साधरणसभा वनका अध्यक्ष जयलाल गिरीको अध्यक्षता, सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, वडा नम्बर ७ का अध्यक्ष विष्णु गिरीको विशिष्ट आतिथ्यता कृष्णप्रसाद गैरेको स्वागत तथा मिना थापा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।