इजरायलबाट छोराको अन्तिम ईच्छा

मेचीकाली संवाददाता

२३ आश्विन २०८०, मंगलवार
1425 shares

सीमा बन

आमा तिम्रो छोरो मारियो भिडन्तमा
तर सहिद बनेन ।
धमाधम आफ्नालाई सुरक्षीत गरीरहे
अन्य मुलुकले, मुटु कांप्यो आमा
मलाई मेरो मुलुकले नागरीक भनेन ।।
बंकर भित्र रगतको आलमा
आहाल काहाल गर्दै प्राण त्याग्न
विवश भएं आमा
मलाई बचाउन मेरो देशले दायित्व ठानेन
सायद मलाई मेरो देशले नागरीक मानेन ।।

जन्मभुमीको माटो रंगाउन
विज्ञताको खोजीमा हिंडेको म
आज आफ्नै रगतले शरीर रंगीयो
तातो गोलीको चोट सहन नसकी
आकुल व्याकुलमा मुख सुक्दा
एक अन्जुली पानीको आशमा जीवन सकियो ।
तिमीले चुकायौ आमा मेरो जीवनको मुल्य
मेरो देशले मेरो मुल्य बुझ्नै खोजेन
मलाई ठेस लाग्दा मुटु छाम्ने तिमी पो आमा
काटिएको खुट्टाको पिंडा मेरो मुलुकले बुझ्नै सकेन ।।

कस्तो देशमा जन्म लिएछु आमा
तिमीलाई अन्तीम शव्द सुनाउन सकिन
आशा भरोषा टुट्यो तिम्रो
बलेको धपक्क दियो छुट्यो तिम्रो
टेक्ने समाउने हांगो भाचिंदा
बेसहारा तिमी पो बन्यौ आमा
मेरो देशले तिम्रो सहारा बुझ्दै बुझेन ।
बुझाउन खोजें, देखाउन खोजें छटपटी र पिंडा
तर तिमीलाई पो घाउमा नुन भैईदियो आमा
मेरो मुलुक मेरो रगतले रुझ्दै रुझेन ।।

टिनको छानामा असिना बर्से झैं
बर्सिरहेछन गोला र बारुदहरु
गोली लागेर ढलेको मेरो शरीरले
तिम्रो स्पर्श खोज्यो आमा
तिमीलाई धोका दिएर मृत्युको बाटो रोज्यो आमा
लर्न गर्दै अर्न गरेर तिम्रो उपचार गराउन सकिन
मागेर जीवन नपाईने रहेछ तर
तिम्रो उपचारलाई भिक मागेको छु आमा
मन बांधेर उपचार गराउनु पर्छ तिमीले
जीवन भर शोकमा डुव्ने तिमी भयौ आमा
एक दिनको शोक र केही थान पैसामा
जीवनको अर्थ देख्ने मेरो देशले
तिम्रालागि मेरो जीवनको मुल्य देख्दै देखेन ।।

तिम्रो ममता र बुबाको शाहसले
हरेक युद्ध जित्छु झैं लाग्थ्यो
साथी संगीले विदेशीन खोज्दा
आफ्नै भुमीमा मिठो फल
टिप्छु झैं लाग्थ्यो
आफ्नैको हेला भएसी आमा
पराईको कुरा कसरी गर्नु
सक्नेले बचाए छानेर आफ्ना
हाम्रो गुहार सुन्ने यहां कोही भएन
तिम्रो भेटको घिट्किसोले सजीलै प्राण जांदै गएन
मलाई पो गाह्रो भो आमा
जान्छु नभनी तिमीसंग विदाई हुन
तर मेरो बिदाईमा तिम्रो पिंडा मेरो देशले बुझ्नै चाहेन ।।

भिडीयो कलमा हिंजो तिमीलाई
दशैलाई खर्च पठाउंछु भने
तर तिम्रालागि दशैं दशा बन्यो आमा
मेरो अभावमा सधै बिचलीत हुनुहुन्न तिमी
आमा सम्हालिनु पर्छ तिमी मन बुझाउनु पर्छ
एक्लै रुन्छन बा पनि आधार बन्नुपर्छ तिमी
नगुमाउनु होस कति मलाई हेरी हेरी
पठाउनेछन पक्कै मलाई बाकसमा बेरी
शरीर पो छुट्यो आमा मन त तिमीसंगै छ नी
हरपल महशुस गर तिमी संगै हुनेछु
प्रार्थना गर अर्को जन्म तिमीसंगै लिनेछु
तर हाम्रो जन्मभुमी जीवनको मुल्य बुझ्ने बनोस
भोकमा भोजन र घाउमा मल्हम आश बनोस
पिंडामा छट्पटिएकालाई खास बनोस मेरो भुमी
पुकार गरेको छु अन्तीम घडीसम्म
म जस्ता कैयौंको सराप बन्दै नबनोस मेरो भुमी ।।