मानसिक स्वास्थ्यः सार्वभौमिक मानव अधिकार

मेचीकाली संवाददाता

२३ आश्विन २०८०, मंगलवार
250 shares

ओम बानियाँ

मानसिक स्वास्थ्य समस्या विश्वव्यापीरुपमा भुसको आगोझैं फलिँदै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वका १ अरबभन्दा बढी मानिसहरु कुनै न कुनै मानसिक स्वास्थ्य समस्याहरुबाट पीडित छन् । जसमध्ये सबैभन्दा बढी ३४ करोड मानिसहरु एनजाइटी डिसअर्डर (दुश्चिन्ता)को चुंगलमा परेका छन् भने ३० करोड मानिसहरु डिप्रेसनबाट पीडित छन् । त्यस्तैगरी मद्यपानको समस्याबाट १० करोड ७० लाख, लागुपदार्थको लतको समस्याबाट ७ करोड १० लाख, बाइपोलर डिसअर्डरबाट ६ करोड ६० लाख, जटिल मानसिक समस्या सजोफ्रेनियाबाट २ करोड ३० लाख मानिसहरु पीडित छन् र हरेक वर्ष कम्तीमा पनि विश्वका ८० लाख मानिसहरु मानसिक समस्याहरुका कारण मर्ने गरेको तथ्याङ्क छ ।

पुरुषहरुको तुलनामा महिलाहरुमा मानसिक समस्या बढी छ । विश्वका करिब ११.९ प्रतिशत महिला तथा ९.३ प्रतिशत पुरुषहरु मानसिक समस्याको चपेटामा छन् । अहिले विश्वमा मानसिक समस्यामा परेका सिर्फ ५० प्रतिशत मानिसहरु मात्र मानसिक स्वास्थ्यको पहुँचमा छन् । नेपाल जस्ता अविकसित देशहरुमा त यो संख्या निकै बढी छ ।

ब्रेन बाइट्स

साइकाइट्रीले अहिलेसम्म मनको अस्तित्वलाई स्वीकारेको छैन । साइकाइट्रीको नजरमा माइण्ड (मन) भन्नु र ब्रेन (मस्तिष्क) भन्नु एउटै कुरा हो तर मनोवैज्ञानिक यथार्थ के हो भने मानिसको मन र मस्तिष्क एउटै कुरा होइन, फरक फरक कुरा हुन् । मस्तिष्क शरीरको एक प्रमुख भौतिक अङ्ग हो भने मन भौतिक अङ्ग होइन । मन मस्तिष्क जस्तो दृश्य पनि छैन । मन अदृश्य छ । जहाँ मस्तिष्कको सम्बन्ध भौतिक शरीर (फिजिकल बोडी) सँग छ भने मनको सम्बन्ध मानसिक शरीर (मेन्टल बोडी) सँग छ । यहाँ उल्लेखनीय कुरा के भने मनको रोगलाई मानसिक रोग भनिन्छ (मानसिक रोग भन्नु पनि ठीक छैन, मानसिक समस्या भन्न ठीक हुन्छ) भने मस्तिष्क (स्नायुप्रणाली) को रोगलाई स्नायुरोग भनिन्छ ।

नेपाल जस्ता अविकसित देशहरुले मानसिक स्वास्थ्यको क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेता पनि मानसिक स्वास्थ्यका नाममा विकसित देशहरुले ठुलो धनराशि खर्च गर्दै आएको देखिन्छ । अमेरिकाले मात्र सन् २०२० मा मानसिक स्वास्थ्यका लागि २३८.४ बिलियन अमेरिकी डलर अर्थात ३१९ खरब ३४ अरब ५६ करोड रुपैयाँ खर्च ग¥यो भने विश्वव्यापी रुपमा सन् २०३० सम्म मानसिक स्वास्थ्य खर्च १६ ट्रिलियन अमेरिकी डलर अर्थात् १३३९ खरब ५३ अरब पुग्ने अनुमान छ ।

तर मानसिक स्वास्थ्यमा अधिक लगानी गरेर मात्र सबैका लागि मानसिक स्वास्थ्यको पहुँच हुन्छ भन्ने पनि छैन, भएको पनि छैन । सही ठाउँमा, ठिक तरिकाले लगानी गर्न पनि त्यत्तिकै आवश्यक हुन्छ । मानसिक स्वास्थ्यका नाममा विश्वले गलत ठाउँमा गलत तरिकाले लगानी गर्दा मानसिक स्वास्थ्यमा सुधार ल्याउनुभन्दा पनि ठुल्ला फार्मा कम्पनी तथा मेडिकल माफियाहरुलाई पोस्ने काम भैरहेको छ । मानसिक समस्याहरुको उपचारका नाममा साइकाइट्रिक मेडिसिनको बढ्दो प्रयोगले मानसिक स्वास्थ्यको स्थिति झनै जटिल र दनीय बन्दै गएको छ ।

मानसिक स्वास्थ्य जटिल होइन, जटिल बनाइएको हो । जति धेरै जटिलता, उति नै धेरै व्यापार । पछिल्लो अध्ययनअनुसार अहिले साइकाइट्रिक मेडिसिनको वार्षिक व्यापार ३३० बिलियन डलर अर्थात् ३६७ खर्ब ५२ अर्ब १० करोडभन्दा माथि पुगेको छ तर मानिसहरुको मानसिक समस्या भने झनै बढेर पहाड भएको छ भने साइकाइट्रिक मेडिसिनको बढ्दो प्रयोगले अन्य रोगहरुसमेत निम्ताएको छ ।

प्रा.डा. पिटर गट्स्चेले आफ्नो एक अध्ययनमा भनेका छन्, अमेरिका र युरोपमा मात्र हरेक वर्ष ६५ वर्षमाथिका ५ लाख मानिसहरु साइकाइट्रिक औषधीका कारण मर्ने गरेका छन् । हृदय रोग तथा क्यान्सरपछि मृत्युको तेस्रो कारण साइकाइट्रिक औषधी हो । यसको अतिरिक्त साइकाइट्रिक औषधीका कारण हरेक वर्ष १० लाख मानिसहरु विकलांग हुने गरेका छन् । एन्टिडिप्रेसेन्ट जस्ता साइक्याएट्रिक मेडिसिनले अल्जाइमर जस्ता निको नहुने रोगहरु जन्माउँछ, यौन दौर्वल्य तथा आत्महत्या बढाउँछ ।
आजभन्दा ५० वर्ष पहिला मनोवैज्ञानिक डा. डेविड रोजन्हेनले एउटा अध्ययन गरेको थिए, जुन जर्नल अफ साइन्सको सन् १९७३ अङ्कमा ‘अन विइंग सेन इन इन्सेन प्लेसेस’ शीर्षकमा प्रकाशित भएको थियो । मनोचिकित्साको इतिहासमा यो निकै प्रभावशाली अध्ययन मानिन्छ । उक्त अध्ययनले मानसिक अस्पतालले कुन व्यक्ति मानसिक रोगी हो वा कुन व्यक्ति मानसिक रोगी होइन भन्ने कुरा छुट्टाउन नसकेको निचोड निकाल्दै मानसिक समस्याको निदानमाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

साइकाइट्री यहीँनिर नै चिप्लिएको छ । साइकाइट्रीले अहिलेसम्म मनको अस्तित्वलाई स्वीकारेको छैन । साइकाइट्रीको नजरमा माइण्ड (मन) भन्नु र ब्रेन (मस्तिष्क) भन्नु एउटै कुरा हो । तर मनोवैज्ञानिक यथार्थ के हो भने मानिसको मन र मस्तिष्क एउटै कुरा होइन, फरक फरक कुरा हुन् । मस्तिष्क शरीरको एक प्रमुख भौतिक अङ्ग हो भने मन भौतिक अङ्ग होइन । मन मस्तिष्क जस्तो दृश्य पनि छैन । मन अदृश्य छ । जहाँ मस्तिष्कको सम्बन्ध भौतिक शरीर (फिजिकल बोडी) सँग छ भने मनको सम्बन्ध मानसिक शरीर (मेन्टल बोडी) सँग छ । यहाँ उल्लेखनीय कुरा के भने मनको रोगलाई मानसिक रोग भनिन्छ (मानसिक रोग भन्नु पनि ठीक छैन, मानसिक समस्या भन्न ठीक हुन्छ) भने मस्तिष्क (स्नायुप्रणाली) को रोगलाई स्नायुरोग भनिन्छ ।

हो, स्नायुप्रणालीका रोगहरुको उपचारका लागि औषधीहरु आवश्यकता पर्न सक्दछ । तर मनका समस्याहरु समायोजन गर्न औषधीको आवश्यता पर्दैन । औषधीले काम पनि गर्दैन । के मानिसको दुःख हटाउने कुनै औषधी छ ? के कुनै औषधीले मानसिको डर हटाउन सक्दछ ? के कुनै औषधीले पारिवारिक तथा समाजिक मनमुटाव तथा झैझगडा मिलाउन सक्दछ ?
वास्तवमा मानिसको मानसिक स्वास्थ्य समस्याहरु हटाउन मनको उपचार आवश्यक छ तर साइकाइट्रीले मनको उपचार होइन, मस्तिष्कको उपचार गर्दै आएको छ । उपचारको नाउँमा साइकाइट्रिक औषधीहरु दिएर गाँजा, चरेस तथा हिरोइनले जस्तै मानिसलाई एडिक्ट बनाउने गरेको छ । परिणामस्वरुपमा साइकाइट्रीक ड्रग्सले मानिसको मस्तिष्क तथा शरीरमाथि कुप्रभाव पार्ने गरेको छ । साइकाइट्रीको तस्बिर यति छर्लङ्ग हुँदा पनि आर्थिक तथा राजनीतिकरुपमा शक्तिशाली बिग फार्मा कम्पनीहरुका अगाडि एन्टिसाइकाइट्री आन्दोलन दबेकै दबै छ । यो नै मानसिक स्वास्थ्य क्षेत्रका लागि बिडम्बना हो भने मानसिक समस्याका व्यापारीहरुका लागि मालामाल ।

विश्व मानसिक स्वास्थ्य बजारबाट निर्देशित भएका कारण नै यसरी गलत बाटोमा अगाडि बढेको हो र यो कहालीलाग्दो स्थिति देखा परेको हो । त्यसैले सबैका लागि मानसिक स्वास्थ्य प्रदान गर्न विश्व स्वास्थ्य क्षेत्रले छिटोभन्दा छिटो सही बाटो अवलम्बन गर्न जरुरी छ ।
मानसिक स्वास्थ्यको सही बाटो भनेको नै मानसिक समस्याहरुलाई रोगको रुपमा होइन कि मनोवैज्ञानिक समस्याका रुपमा हेर्नु पर्दछ र समस्याहरुको समाधान पनि मनोवैज्ञानिक तरिकाले खोज्नु पर्दछ । त्यो किनभने मानसिक समस्याको जड भनेको तनाव हो । तनावका कारण नै मस्तिष्क रसायनहरु असन्तुलन हुन्छन् । तनावले सबैभन्दा पहिला शरीरको स्नायुप्रणालीलाई प्रभाव पार्दछ, अनि असन्तुलित स्नायुप्रणालीले पाचन प्रणाली, रक्तसंचार प्रणाली तथा श्वासप्रश्वास लगायतका प्रणालीहरुलाई विकृत बनाउँछ । अनि शरीरको प्रतिरोधक क्षमता पनि कजोर हुन्छ । यसरी शरीरको संरचना अस्तव्यस्त भएपछि मस्तिष्क रसायनहरु डोपामीन, सेरोटोनिन तथा नोरोपिनेफ्रेन आदि तथा हार्मोनहरु पनि असन्तुलन हुन्छन् जसका कारण मानसिक समस्याहरू पैदा हुने सम्भावना हुन्छ । जस्तो कि डिप्रेसनमा परेको व्यक्तिमा सेरोटोनिन मात्रा कम हुन्छ । तर यहाँ अर्को तथ्य के भने पेटको समस्याहरुका कारण पनि डिप्रेसन जस्ता मानसिक समस्याहरु पैदा हुन सक्छन् । त्यो किनभने ८० प्रतिशत सेरोटोनिन् पेटमा नै बन्दछ । तनावले नै पाचन क्रिया बिगार्छ ।

वास्तवमा अधिकांश मानसिक समस्याहरु मानसिक आघात, हीन भावना, नकारात्मकता, आपसी मन–मुटाव, पारिवारिक झैंझडा, सामाजिक तथा आर्थिक दवाव, हृदयविदारक घटना, व्यापार व्यावसायमा हानिनोक्सानी, आत्मसम्मानमा ठेस, गलाकाट प्रतिस्पर्धा आदि जस्ता मनोवैज्ञानिक तथा सामाजिक कारणहरूले गर्दा पैदा हुन्छन् । मनोसामाजिक कारण स्वयं मानसिक समस्याहरुको एक कारण मात्र नभएर यसले अनुवाशिंक तथा जैविक कारणहरूलाई जमीन प्रदान गर्ने तथा मलजल हाल्ने कार्य समेत गर्छ । जस्तो कि सुख्खा जमीनमा जति सुकै पोटिलो बिउ पनि उम्रिदैन । तर पानी परेर जमिन चिसो भयो भने बिउ टुसाउँछ ।

मनोवैज्ञानिक उपचारमा मानसिक समस्याको कारण पत्ता लगाई मनोवैज्ञानिक तरिकाबाट कारण हटाउने प्रयास गरिन्छ । मनोवैज्ञानिक चिकित्सा पद्धति (साइकोथेरापी) मानसिक विकारहरू (मेन्टल डिस्अर्डर) तथा व्यथाहरू (डिस्टे«स) को मूल कारण प्रतिकूल वा नकारात्मक भावना (नेगेटिभ फिलिङ्स) हो भन्ने मान्यतामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान (कग्निसन), चिन्तन तथा घटना र परिस्थितिलाई हेर्ने दृष्टिकोणले नै मानसिक समस्या पैदा गर्छ । त्यसैले मानसिक समस्या ठीक गर्नका लागि व्यक्तिको मनमा रहेका प्रतिकुल तथा नकारात्मक भावनाहरु तथा दृष्टिकोण परिवर्तन गर्न आवश्यक पर्छ । साइकोथेरापिमा विभिन्न कग्निटिभ तथा बिहाभियर टेक्निकहरूको सहायताबाट मानसिक समस्यामा परेका व्यक्तिको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ, जसलेगर्दा व्यक्तिको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भई व्यवहार समायोजित हुन पुग्छ । यो नै मानसिक स्वास्थ्यको वैज्ञानिक उपचार हो ।

तसर्थ मानसिक समस्याहरुको उपचारका लागि मनोवैज्ञानिक उपचारका साथै योग, ध्यान, प्राकृतिक जीवनशैलीलाई जोड दिनुपर्छ र लक्षणहरु कम गर्न प्रतिप्रभाव नगर्ने जडीबुटी प्रयोगमा ल्याउनु उत्तम हुन्छ । कतिपय जडीबुटीहरुले मानसिक समस्याहरुमा साइड इफेक्टबिना एन्टीडिप्रेसेन्ट जस्ता साइक्याएट्रिक मेडिसिनले भन्दा पनि प्रभावकारी असर देखाउन कुरा अनेक अध्ययनहरुले देखाएको छन् । यदि मानसिक स्वास्थ्य क्षेत्र यस बाटोमा अघि बढ्यो भने मात्र विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को नाराः मेन्टल हेल्थ इज ए युनिवर्सल ह्युमन राइट (मानसिक स्वास्थ्य एक सार्वभौमिक मानव अधिकार) सार्थक हुनेछ, अन्यथा बिरामीको ढाँड सेक्ने तथा फार्मा कम्पनीहरुलाई पोस्ने काम नै हुनेछ । (लेखक साइकोथेरापिष्ट हुन् ।)