नक्कली नोटको बिगबिगीः बुटवलबाट नोट छाप्ने मेशिन बरामद

मेचीकाली संवाददाता

२५ आश्विन २०८०, बिहीबार
273 shares

हरि शर्मा
परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली नोट छाप्ने मेशिन बरामद गरेको छ । नक्कली नोटसहित बुधबार २ जना व्यक्ति पक्राउ परे लगत्तै प्रहरीले बिहीबार मेशिन बरामद गरेको हो । नवलपरासीको बर्दघाट बजारको विनय होटल एण्ड रेष्टुरेण्टबाट १ लाख ३९ हजार नक्कली नोटसहित उनीहरु पक्राउ परेका थिए । बर्दघाटमा पक्राउ परेका उनीहरुसँग सोधिखोजी गर्दा नक्कली नोट बनाउका लागि प्रयोग गर्ने मेशिन बुटवलमा राखेका बताएका थिए । सोही आधारमा बुटवलको अन्नपूर्ण खाना तथा खाना घरबाट मेशिन बरामद भएकोे जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए ।

१ हजार दरका नक्कली नोटसहित पक्राउ परेका उनीहरुबाट नोट बनाउनका लागि प्रयोग हुने कागज, स्ट्याम प्याड, स्केललगायतका समानसमेत बरामद गरिएको छ । मोबाइल फोन बन्द गरेर वाट्सएपबाट कुराकानी गर्दै आएका उनीहरुलाई महिला प्रहरीमार्फत हनी–ट्रयापमा पारेर पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा तनहुँ ऋषिङ्ग गाउँपालिका–३ बस्ने २५ वर्षिय सुरज वि.क. र पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षिय कृष्णबहादुर विश्वकर्मा छन् । उनीहरु लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको प्रहरीले जनाएको छ । चाडपर्वको मौका पारेर उनीहरु नेपाल आएको प्रहरीले जनाएको छ ।

यसैबीच नक्कली नोट बनाउने गिरोह नै रहेको प्रहरीले जनाएको छ । बुधबार नै उनीहरुकै समूहमध्येका २ जना तनहुँमा पक्राउ परेको एसपी आचार्यले बताए । अनुसन्धानमा अहिलेसम्म ४ जना रहेको पाइएको उनले बताए । नक्कली नोट बजारमा साटेर सक्कली लिनका लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका बजार क्षेत्रलाई लक्षित गरेर उनीहरु दुई समुहमा विभाजन भएको प्रहरीले जनाएको छ । ‘यिनीहरुले ठूलो रकम दिएर नक्कली नोट साट्ने गरेको पाइएन, पसलमा १ सयको सामान किनेर ९ सय सक्कली नोट लिँदै हिडेको पाइयो । ’ एसपी आचार्यले भने । पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।