मैत्रीपुर्ण फुटबल प्रतियोगिता माथागढी ३ सराईमा हुँदै

मेचीकाली संवाददाता

१ कार्तिक २०८०, बुधबार
281 shares


नेत्र गैरे

पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पा र माथागढी गाउँपालिकाका जनप्रतिनिधि बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता माथागढी ३ सराईको खेल मैदानमा हुने भएको छ ।


यहि कार्तीक ३ गते माथागढी गाउँपालिकाको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाको समन्वयमा मैत्रीपूर्ण खेल हुने गाउँपालिकाका अध्यक्ष यम चिदीले बताए ।


नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जनप्रतिनिधि र पत्रकार बीच भातृत्व कायम गर्नुका साथै समाजको बिकास, स्वास्थ्यको लागि खेल, जीवन शैलीलाई व्यवस्थित र अनुशासित बनाउने सन्देश दिनको लागि खेलको आयोजना गरिएको बताए । साथै माथागढी गाउँपालिका भौगालिक हिसावले खेलको लागि उचित स्थान रहेको र खेलमैदानको प्रचारप्रसार गर्ने उद्देश्यले समेत प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।कार्यक्रममा अध्यक्ष चिदीले जिल्लाकै खेलमैदानको रुपमा सराई खेलमैदानलाई विकास गर्ने योजना बनाएको समेत बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले मनोरञ्जन, सम्बन्ध विस्तार, खेलमैदानको प्रचारप्रसार लगायतको उद्देश्य प्रतियोगिताले पुरा गर्ने बताए ।


कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव प्रसाद अर्यालले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा स्थानीय तहले जोड दिनु सकारात्मक भएको भन्दै खेलकुदको वस्तुगत धरातललाई आत्मासाथ गर्दै यो क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए ।


आउँदै गरेको बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगायतका चाडहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हो ।