काठमाडौं । लामो समयको प्रतिक्षापछि आज (सोमबार) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो ।
‘सोमबारदेखि एमडिएमएस पूर्ण रूपमा लागू हुनेछ । प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुनेछन्,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने । उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । ती फोनहरू ब्लक हुनेछन् ।
प्राधिकरणले यही कार्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो । सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अबरुद्ध हुनेसमेत जनाएको थियो । सोहीअनुसार प्राधिकरणले भोलिदेखि एमडिएमएस लागू गर्न लागेको हो ।
प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा ‘हाइ रेन्ज’ का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन् । यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन् । उनले भने,‘यसरी गर्दा भोलिमात्रै ८ सयदेखि एक हजार ह्यान्डसेट ब्लक हुने देखिन्छ । विशेष हाइ रेन्जका मोबाइल जस्तै आइफोन, वान–प्लस, सामसङ कम्पनीका मोबाइल सेट पर्ने देखिन्छ ।’
प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने उनले बताए । प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो । वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ । यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन् ।
तपाईंको फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ । यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर ८३०६३ डायल गरेर पत्ता लगाउन सकिन्छ । अथवा तपाईंको ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।