सुनिल आचार्य
कपिलवस्तु । घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा निरन्तरता दिनका लागि कपिलवस्तु नगरपालिका –११ रेहरा घर भई हाल कपिलवस्तु नगरपालिका ३ सिकोटवा आफन्तको आश्रयमा बस्दै आएकी ३३ वर्षीया तारा धोवीलाई इन्सेकले कात्तीक २२ गते आर्थिक सहयोग गरेको छ ।
मानव अधिकार समूहका अध्यक्ष लगायतका समूहका पदाधिकारीहरूको रोहवरमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले रु. ८ हजार रूपियाँ धोवीलाई सहयोग हस्तान्तरण गर्नु भएको हो ।
पीडितले पति ३३ वर्षीय स्यामराज धोवी , सासु ५८ वर्षीया शुभावती धोवी , जेठाजु ४० वर्षीय राजाराम धोवी विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा कात्तीक २३ गते दर्ता गराउनु भएको छ ।
पति र घर परिवारका सदस्यहरुले ०८० भदौ २ गते शनिबारको दिनदेखि अत्ती हिंसा गर्ने खान लाउन नदिने , बिरामी हुँदा उपचार खर्च नदिने , शारिरीक, मानसिक र आर्थिक हिंसा गरेको , गालिगलोज गर्नुका साथै कुटपीट गरी घरबाट दुई नाबाल सहित निकालेको र सो पश्चात कुनै रेखदेख नगर्नुका साथै घरमा बस्न नदिएपछि आफन्तको आश्रयमा बस्दै आएको पीडित तारा धोवीले बताउनु भयो ।
हाल आफन्तको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धी मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुमा कात्तीक २० गते निवेदन दिनु भएको थियो । मानव अधिकार समूहले कात्तीक २० गते नै पीडितलाई सहयोग गरिदिन भन्दै इन्सेक कपिलवस्तुलाई सिफारिस ग¥यो । पीडितको निवेदन र मानव अधिकार समूहको सिफारिसको आधारमा जिल्ला प्रतिनिधि मार्फत कात्तीक २१ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजलाई गरिएको सिफारिसको आधारमा हिंसा पीडितलाई सहयोग उपलब्ध गराईएको हो ।
पीडितको निवेदन र मानव अधिकार समूहको सिफारिको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य र मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले जिल्ला कानुनी सहायता समितिसँग समन्वय पश्चात कात्तीक २३ गते पीडितले माना चामल र अंश सम्बन्धीको मुद्दा जिल्ला अदालतमा दर्ता गराउनु भयो ।
आर्थिक अभावका कारण मुद्दा दर्ता गर्न र कानुनी सहायता सम्म पुग्न नसकेको समयमा सहयोग पाएपछि अवत न्याय पाईन्छ भन्ने आशा भएको भन्दै पीडित धोवीले इन्सेकलाई धन्यवाद दिनु भयो । खानेगास र बस्ने वास छैन नाबालक सहित घरदेखि निकाला भएका म र मेरा नावालकलाई आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नु भएको छ ।