बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला गैडहवामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्ला क्षेत्र नम्बर ५ का जनतालाई लक्षित गरी गैडहवा गाउँपालिका वडा नम्बर ८ मा हेल्थ क्याम्प गरिएको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट, भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले उदघाटन गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष केसीले स्वास्थ्य विभागले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । केसीले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभागले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे । शिविरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तथा विभाग प्रमुख सुनील श्रेष्ठले वार्षिक कार्ययोजना अनुसार शिविर गरिएको बताए । श्रेष्ठले घुम्ती स्वास्थ्य शिविर गर्न सरकारसँग गाडीको पहल गर्ने योजना रहेको बताए । चेकजाँच गरेका विरामीलाई अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।
कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष भुवनबहादुर राना, क्षेत्रीय संयोजक जीवनाथ पौडेल, एमाले गैडहवा गाउँपालिकाका इन्चार्ज टिकाराम रिजाल लगायतले बोलेका थिए । विभागले यसअघि रोहणी, सम्मरीमाई, सैनामैनामा पनि शिविर गरिसकेको छ । अहिलेसम्म सबै शिविरमा गरेर १० लाख रुपैयाँ बराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । अहिलेसम्मका शिविरबाट २ हजार ५०० जनाले सेवा लिएका छन् । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।