मोटरसाईकल दुर्घटना हुँदा सहकारी अभियान्ता देवकोटासहित दुई जनाको मृत्यु

मेचीकाली संवाददाता

४ मंसिर २०८०, सोमबार
795 shares

बुटवल । रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मत्यु भएको छ । सोमबार दिउसो तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटरसाईकललाई सोही दिशामा गइरहेको ना ६ ख ८१६१ ट्रकले पछाडीबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा तिलोत्तमा–१ का माधव देवकोटा र तिलोत्तमा–२ की यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका देवकोटा र क्षेत्रीलाई उपचारका लागि मणिग्रामस्थीत क्रिमसन अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थापाले बताए । ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

देवकोटा सहकारी अभियान्तासमेत हुन् । तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत थिए ।