हरि शर्मा
परासी । सरकारले नवलपरासीका उखु किसानहरुको अनुदान रकम पठाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा उक्त रकम पठाइएको हो । अनुदानमध्ये केही रकम सरकारले अझै पठाउन बाँकी छ । जिल्लाका उखु किसानले अनुदानबापतको कुल १५ करोड ७३ लाख रुपैयाँ जिल्लाका किसानहरुले अनुदानबापको रकम पाउन बाँकी छ ।
सरकारले अहिले १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गर्न पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल केशव पौडेलले जानकारी दिए । अझैं सरकारले ६१ लख ७ हजार ४४२ रुपैयाँ अनुदानबापतको रकम पठाउन बाँकी छ । सरकारको निर्णयअनुसार किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइने लेखापाल पौडेलले बताए । यो आ.व.२०७९/०८० मा चिनी उद्योगलाई उखु उपलब्ध गराएका किसानहरुलाई वितरण गरिने रकम हो । जिल्लाका चार चिनी उद्योगले अनुदान पाउने किसानको नाम कोलेनिकामा पठाइसकेका छन् ।
चिनी उद्योगले कोलेनिकामा पठाएको विवरणअनुसार गत आ.व.मा चार वटा चिनी मिलले कुल २२ लाख ४७ हजार ४७९ क्विन्टल उखु क्रसिङ्ग गरेका छन् । उक्त आ.व.मा बाग्मती चिनी उद्योग कुडियाले १० लाख ८० हजार ८४५ क्विन्टल, इन्दिरा चिनी उद्योग प्रतापपुरले ७ लाख २२ हजार ९०२ क्विन्टल, लुम्बिनी चिनी उद्योग सुनवलले ३ लाख ५६ हजार ४७४ र तत्व फर्म प्रा.लि. प्रतापपुरले ८७ हजार २५६ क्विन्टल उखु क्रसिङ्ग गरेको विवरण बुझाएको लेखापाल पौडेलले जानकारी दिए । गतवर्ष सरकारले उखुको प्रति क्विन्टल ६१० रुपैयाँ समर्थन मूल्य कायम गरेको थियो । जसमा उखुको मूल्य प्रतिक्विन्टल ५४० र ढुवानी भाडाबापतको प्रति क्विन्टल ७० रुपैयाँ सरकारले अनुदानबापतको रकम किसानलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
दसैं अघि पठाइएको उक्त रकम चाडपर्वका कारण किसानहरुलाई पठाउन नसकिएको कोलेनिकाका प्रमुख कोष नियन्त्रक पर्शुराम नेपालले बताए । ‘केही दिनमा उखु अनुदान भुक्तानी समितिको बैठक बसेर अनुदान रकम वितरण गरिने छ ।’ प्रमुख कोष नियन्त्रक नेपालले भने । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला स्तरीय उखु अनुदान भुक्तानी समिति रहेको छ । ‘चिनी उद्योगले पठाएको विवरणअनुसार केही रकम अझै अपुग हुने देखिन्छ । बाँकी रकम पठाउन पत्रचार गर्छाँै, रकम सोझैं किसानको खातामा पठाउँछाँै ।’ नेपालले भने ।