जनतालाई पुरानै अवस्थामा फर्काउन खोज्नु मूर्खताः महामन्त्री थापा

मेचीकाली संवाददाता

८ मंसिर २०८०, शुक्रबार
252 shares

अनिल नेपाली

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतालाई व्यव्स्थाप्रति वितृष्णा जगाएर ऋण मिनाहको नाममा राजनीति गरेर पुरानै व्यवस्था ठिक थियो भन्नु जस्तो मूर्खता अरु केही नहुने बताएका छन् । शुक्रबार सन्धिखर्कमा कांग्रेसको प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

नेपाली कांगेसका महामन्त्रीसमेत रहेका थापाले पुरानो व्यवस्था ठिक थियो भनेर आन्दोलन गर्नु मूर्खतापूर्ण हुने टिप्पणी गर्दै व्यवस्थाप्रति शंका र उपशंका भए सबै मिलेर सुधार गरेर सिंहदरबारको सरकारभन्दा घरदैलोको सरकारलाई थप जिम्मेबार बनाउनुपर्ने बताए ।

‘गल्ती भएका छन्, सुधार्ने हो तर योभन्दा राम्रो गर्नुपर्छ भन्नुपर्ने ठाउँमा पहिलेकै व्यवस्था योभन्दा राम्रो थियो, असल थियो, त्यो दिन पो ठिक थियो भन्यो भने त्योभन्दा ठूलो मूर्खता केही पनि हुँदैन,’ उनले भने । मुलुक नबनेसम्म भावी सन्ततिका भविष्य पनि नबन्ने भन्दै आफूहरू मुलुक बनाउने अभियानमा लागेको उनले बताए । नेपाल संसारको सबैभन्दा राम्रो देश भएको भन्दै उनले मुलुक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद डा.चन्द्र भण्डारीले सिंहदरबारले गाउँलाई देख्न नसकेको बताउँदै रुपान्तरण पुस्तान्तरण अहिलेको प्रमुख आवश्यकता भएको बताए । कार्यक्रममा केन्द्रिय सदस्य पुष्पा भुसाल,चन्द्र केसी, मानबहादुर विक, नैनसिंह महर, लुम्बिनी प्रदेशका सभापति अमर पुनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव कृष्ण खनालको सञ्चालन, उपसभापति विष्णुप्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति, उपसभापति, विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।