हरि शर्मा
परासी । एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही प्रकृया अघि बढाउन नगरपालिकालाई पत्राचार गरेको छ ।
आयोगको बुटवल कार्यालयले नवलपरासीको सुनवल नगरपालिकालाई पत्र लेख्दै नगरपालिका क्षेत्र अन्तरगतको जनसेवा माविको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा थानप्रसादले दर्ता गरी बिक्री गरेको खुल्न आएकोले छानबिन गरी कारबाही प्रकृया अगाडि बढाइ आयोगको निर्णय कार्यान्वयन गराउन भनेको छ । गैरे नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी गत प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ ‘क’बाट एमालेबाट पराजित भएका थिए ।
विद्यालयको नाउँमा साविक सुनवल गाविस–६ ‘ख’ को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको छ । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानबिन गर्दा उक्त जग्गा गैरेले अतिक्रमण गरी बिक्री गरेको भन्ने खुल्न आएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र ९७ बमोजिब छानबिन गरी कारबाही गर्न नगरपालिकालाई आयोगले पत्रचार गरेको हो । उजुरीपछि आयोगले नापी कार्यालयको टोलीसहित जग्गाको नाप जाँच गरेको थियो । नाप जाँचका क्रममा १ ‘घ’ को कित्ता नं. कि.नं. १३५ नम्बरको जग्गा भोगचलन गर्नेले विद्यालयको जग्गा अतिक्रमण गरेर बसेको भन्ने व्यहोराको प्रतिवेदन आयोगमा पठाइएको नापी कार्यालयले जनाएको छ ।
गैरेले अतिक्रमण गरी बिक्री गरेको भन्ने जग्गा सोधखोज गर्दा उक्त जग्गा गैरेकी श्रीमती लिलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत कार्यालयको श्रेस्तामा देखिएको छ । श्रेस्ताअनुसार विद्यालयसँगै जोडिएको ८ कठ्ठा जग्गा गैरेकी श्रीमती लिलादेवीको नाउँमा तत्कालीन लुम्बिनी बसोबास कम्पनीको मिति २०४६ जेठ ९ को निर्णयअनुसार सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीले मिति २०५८ असार २० गते लिलादेवीको नाउँमा दर्ता गरेको देखिएको छ ।
तत्कालीन समय (२०४९ देखि २०५९ सम्म) को १० वर्षसम्म थान प्रसाद सुनवल गाविसका अध्यक्ष रहेका थिए भने २०५३ देखि २०५८ सम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए । पदको दुरुपयोग गरी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट उक्त जग्गा श्रीमतीको नाउँमा दर्ता गरेको स्थानीयको भनाइ छ । कित्ता नम्बर १३५ को २ कठ्ठा जग्गा गैरेकी श्रीमती लिलादेवीले २०५९ असार १७ गते खुनाकुमारी पोखरेलको नाउँमा राजीनामा गरी दिएकी छन् भने कित्ता नम्बर ९६ को ६ कठ्ठा जग्गा कित्ता फोड गरी अन्य व्यक्तिहरुलाई बिक्री गरेको मालपोत कार्यालयको श्रेस्ता किताबमा देखिएको छ । जग्गाधनीलाई विद्यालयको जग्गासमेत कित्तामा रहेको बताउँदै जग्गा बिक्री गरेको बताइएको छ ।
कित्तामा बाँकी रहेको जग्गा अहिले पनि गैरेले नै भोगचलन गरेको देखिएको बताइएको छ । नापी कार्यालयको टोलीले समेत उल्लेखित कित्ताहरुमा रहेका केही जग्गा खाली रहेको जनाएको छ । त्यस्तै जग्गा खरिद गरेका जग्गाधनीले अहिले पनि विद्यालयको जग्गा भोगचलन गरेको देखिएको जनाएको छ । कित्तामा पर्ने जग्गाभन्दा विद्यालयको जग्ग जग्गाधनीले भोगचलन गरेको देखिएको नापी कार्यालयले जनाएको छ । अतिक्रमण गरी १५ कठ्ठा जग्गा बिक्री गरेको भन्ने आयोगको भनाइमध्ये ८ कठ्ठा जग्गा अन्य व्यक्तिलाई बिक्री गरेको र बाँकी रहेको करिब ६÷७ कठ्ठा जग्गा खाली नै रहेको देखिएको नापीका एक कर्मचारीले बताए ।
द्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिनाले विद्यालयका नाउँमा रजिष्ट्रेशन पास भइसकेपछि खोजबिन गर्ने क्रममा उक्त जग्गा अतिक्रमण भएको पाइएको बताए । २०३४ सालदेखि उक्त जग्गा विद्यालयले भोगचलन गर्दै आएको छ । २०७४ चैतको मन्त्रिपरिषद्को निर्णयले उक्त जग्गा विद्यालयको नाउँमा रजिष्ट्रेशन पास भएको हो ।
आयोगको निर्णय कार्यान्वयनबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कार्यापालिकाको बैठक बसेर त्यसबारे निर्णय गर्ने बताए । ‘थानप्रसाद गैरेले जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्नेबारेको आयोगको पत्र पाएका छौं । केही दिनमा त्यसबारे कार्यपालिकाको बैठक बसेर निर्णय गरेर आयोगमा लेखी पठाउँछौँ ।’ गिरीले भने ।
विद्यालयका प्रधानाध्यापक रमेश पौडेलले करिब ५ बिघा जग्गामध्ये अहिले विद्यालयले २ बिघा मात्रै भोगचलन गरेको बताए । ‘केही जग्गा व्यक्तिले अतित्रमण गरी भोगचलन गरेका छन् । केही जग्गा घोला (ठूलो कुलो) मा परेको छ, केही चौर रहेको छ । आयोगले छानबिन सुरु गरेकाले अतिक्रमित जग्गा फिर्ता आउला ।’ पौडेलले भने ।