भूपू गोर्खा संयुक्त सत्याग्रह समिति लुम्बिनी प्रदेशद्वारा ध्यानाकर्षण

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
1010 shares

बुटवल । भूपू गोर्खा संयुक्त सत्याग्रह समिति लुम्बिनी प्रदेशले एक विज्ञप्ती जारी गर्दै समान अधिकारका लागि ध्यानाकर्षण गराएको छ ।

बेलायती सेना (गोर्खा सैनिक) सेवाबाट अवकास लिएकाहरु विगत तीन दशक यता समान अधिकारको लागि आन्दोलन गरिरहे पनि उक्त आन्दोलनबाट सानातिना उपलब्धीहरु हासिल भएपनि समान कामको समान हक अधिकार र अन्य क्षतिपूर्ति प्राप्त गर्नुपर्ने मुख्य मागहरुको सुनुवाई नभएको भन्दै ध्यानाकर्षण गराएको हो ।

समितिले यसो हुनुको कारण बेलायत सरकारको हेपाहा प्रवृत्ति र नेपाल सरकारको निरिहपनाले आफूहरु विभेदमा परेको दाबी गरेको छ । त्यस्तै समितिले यो समस्या सधैँका लागि समाधान गर्नका लागि सन् २०२१ जुलाई २१ देखि १७ दिनसम्म रिले अनसन तथा आन्दोलनपश्चात सन् २०२१ अगस्ट ७ बाट गोर्खा संयुक्त संघर्ष समितिका अभियन्ता ज्ञानराज राई, धन गुरुङ र एकल महिला पुष्पा राणा घले भोक हडतालमा बसेको समितिका अध्यक्ष होमबहादुर पुनले बताए ।

‘उहाँहरु बसेको आज १४ दिन भएको छ । उहाँहरुको स्वास्थ्य अवस्था एकदम कमजोर हुँदै जानुका साथै तिनैजना ६० वर्ष माथिका वृद्ध हुनुहुन्छ ।’ पुनले भने । कुनैपनि समयमा उहाँहरुको स्वास्थ्य तलमाथि हुनसक्ने अवस्था आएको पुनले बताए ।

समितिले सरकारले भूपू गोर्खा समस्या समाधानको लागि नेपाल सरकाबाट उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ताको लागि प्रस्ताव गर्ने काम नगरेको गुनासो गरेको छ । भोलिका दिनमा अभियन्ताहरुको जीवन तलमाथि भएमा गोर्खा आन्दोलन फेरि नेपाल सरकारसँग संघर्ष गर्न बाध्य हुने समितिले उल्लेख गरेको छ ।

गोर्खा समस्याको समाधानको लागि तत्काल काम सुरु गरेर वार्ता अगाडि बढाउन समितिले नेपाल सरकार र सम्बन्धित सम्पूर्ण निकायलाई आगह गर्दै ध्यानाकर्षण गराएको छ ।