पार्वती आचार्य
कपिलवस्तु । दिप प्रज्वलन गरि लैगिंक हिंसा बिरुद्धको अभियान शुभारम्भ गरिएको छ । गैरसरकारी महासंघको आयोजनामा जिल्ला प्रशासन कार्यालय चोकमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको हो । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने यस बर्षको राष्ट्रिय नारा रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले महिलामाथि हुने लैंगिक हिंसा विरुद्धका भेदभाव, बालबालिकाहरु माथि हुने भेदभाव, ज्येष्ठ नागरिकहरुमा हुने बिभेदलगायतका बिभिन्न विभेदहरुलाई न्यूनिकरण गर्न स्थानियतहरुले समन्वय गरेर बिभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । हिंसा न्यूनिकरण गर्न १६ दिन सम्म मात्र मनाईने दिवस मात्र नभएर ३६५ दिननै पालिका र वडा स्तरबाट अभियान तथा कार्यक्रमहरु संचालन गर्न सके लैंगिंक हिंसा न्यूनिकरण हुने बताउँदै यस अभियान सफल पार्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेयको अध्यक्षतामा कालिका स्वावलम्बन बिकास केन्द्रका रामेन्द्र रावलको स्वागत तथा महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष पुष्पा रेग्मीको संचालनमा दिप प्रज्वलन शुभारम्भ कार्यक्रममा माहुरी होम, इन्सेक, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक संजाल, साथी संस्था, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, सामुदायिक प्रहरी, सनसाईन, दलित सामाजिक बिकास केन्द्र, किशोरी अधिकार मञ्च, दलित महिला संघ लगाएतका संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।