बुटवल। नेवार समुदायको परम्परागत लाखे नाचको संरक्षण र प्रचारका लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । नेवाः देय दवू, गुल्मीको आयोजना तथा रुरुक्षेत्र गाउँपालिकाको सहयोगमा रानीवासमा शनिबार प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा रुपन्देहीको बुटवल–११ देविनगरस्थित नेवाः संस्कृति संरक्षण समाज पहिलो भएको छ । पाल्पाको तानसेनको टक्सार काल भैरव लाखे समूह दोस्रो तथा रुरुक्षेत्र–१ रिडी पीथत नेवाः जाति व भाषा पूच समूह तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो हुनेलाई रु.५० हजार एक, दोस्रो हुनेलाई रु.३५ हजार एक र तेस्रो हुनेलाई रु.२० हजार एक नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशभरिबाट २१ वटा लाखे समूहको सहभागीता रहेको थियो ।
नेवाः देय दवू, गुल्मीका अध्यक्ष तीर्थ श्रेष्ठले परम्परादेखि चलिआएको लोकसंस्कृति झल्कने जात्रा लोप हुने अवस्थामा पुगेकाले प्रतियोगिताको आयोजना गरिएको बताए । उनका अनुसार लोप हुने क्रममै रहेको लाखे नाचको संरक्षण र प्रवद्र्धन गर्न प्रतियोगिता गरिएको हो ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले नेवार समुदायको लाखेनाच सबै नेपालीको पहिचान जनाउने संस्कृति भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताए । साथै उनले मौलिक संस्कृति जोगाउन पालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, पूर्वसांसद कमलराज श्रेष्ठ, नेवाः देय दवू, केन्द्रिय सदस्य लोकहरि श्रेष्ठ, नेवा देय दवू, लुम्बिनी प्रदेश अध्यक्ष विजुला जोशीलगायतले बोल्दै परम्परागत यो नाच जोगाउन पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । नेवाः देय दवू, गुल्मीका सचिव रामप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।