वातावरण सरसफाई तथा स्वास्थ्यसम्बन्धी सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

११ मंसिर २०८०, सोमबार
195 shares

सुनिल आचार्य

कपिलवस्तु । मायाँदेवी गाउँपालिका–५ बलुहवामा वातावरण सरसफाई तथा स्वास्थ्य सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । जनता माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह मायादेवीको आयोजना, वडा नं १ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा आइतबार नाटक प्रदर्शन गरिएको हो ।

नाटकमा वातावरण सरसफाई तथा स्वास्थ्य सम्बन्धि सचेतना मूलकका बिषयहरु समेटि आफूले गरेको फोहोर, आफ्नो घरदेखि निस्किएको फोहोर अरुको घरको अगाडी नफालौं, जथाभावी फोहोर फ्याके नकारात्मक प्रदुषणले स्वास्थ्यमा असरपार्ने भएको हुँदा स्वास्थ्यलाई स्वच्छ राख्न वातावरण संरक्षणमा ध्याना दिऔं । सड्ने र नसड्ने फोहोरको व्यवस्थापन गरौं, खुल्ला स्थानमा दिशापीसाप नगरौं , स्वच्छ घर , स्वच्छ गाउँ बनाउन सबैले हातेमालो गरौं लगायतका संदेश मूलक बिषयहरु नाटकमा समावेश गरिएको थियो ।

सडक नाटकलाई अवलोकन गर्दै मानव अधिकार समूह लुम्बिनी प्रदेश अध्यक्ष पुष्पा रेग्मीले वातावरण र सरसफाईमा सबैले ध्यान दिए वातावरण असन्तुलनका कारण स्वास्थ्यमा नकारात्मक असर नपर्ने बताउनु भयो । बिद्यालय स्तरिय क्रियाकलापहरुबाट संचालन गरिने यस्ता कार्यक्रमहरुबाट धेरै कुराहरुमा परिवर्तन ल्याउन सम्भव भएको हुँदा वालवालिकाहरुले प्रस्तुत गरेको वातावरण सम्बन्धी सडक नाटक स्वागत योग्य भएको बिश्वास व्यक्त गर्नुभयो ।
मायाँदेवी गाउँपालिका स्तरिय मानव अधिकार समूहका अध्यक्ष सतीष प्रसाद पाण्डेयले इन्सेकले संचालन गरेको अभियानमा आम नागरिकहरुले एक्यवद्धता जनाई वातावरण संरक्षण गर्न सके र फोहोर व्यवस्थापन गरे झाडापखला लगाएतका बिभिन्न रोग नलाग्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वडा नं. ५ का वडा प्रतिनिधि निरज कुमार तिवारीले सरकारले गर्ने कार्यलाई इन्सेकले बिद्यालयका बालबालिकाहरु मार्फत समाजमा सचेतना फैलाउने कार्य गर्नु नै सह्रायिन भएको बताउनु भयो । बिद्यालयका प्रधानाध्यापक राम निवास चौहानले इन्सेकको सहयोग र सहकार्यबाट बालबालिकाहरुलाई थप सिकाई भएको र बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दा बालबालिकाहरुमा क्षमता बृद्धि हुनु नै मुख्य उपलब्धि भएको बताउनु भयो ।

यस्तै बाल संरक्षक शिक्षक बाल किसुन चौधरीले सडक नाटकको सहजीकरण गर्दै मानव जिवनलाई स्वस्थ्य राख्न घर , बिद्यालय र गाउँ समाज सफा हुनु आवश्यक भएको बताउनु भयो । सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष सन्तोष कुमार यादवको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए ।