सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्यालमाथि कुटपिट

चिकित्सकहरु विरोधमा, अस्पतालको सेवा ठप्प

मेचीकाली संवाददाता

१३ मंसिर २०८०, बुधबार
489 shares

बुटवल। बुटवल। बुटवल दिपनगरस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि आक्रमण भएको छ। सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले डा. बस्यालमाथि कुटपिट गरेका हुन् ।

मंसिर १२ गते गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेककी ३२ वर्षिया भवानी रास्कोटीको उपचारको क्रममा मृत्यु भएको थियो । मंसिर ११ गते अपरेसन गरी ५ किलो तौलको बच्चा जन्माएकी रास्कोटीको मृत्यु अस्पतालको लापहरवाहीका कारण भएको आफन्तले आरोप लगाएपछि अस्पतालमा तनाव सिर्जना भएको थियो । सोही विवाद समाधानका लागि बसेको बार्ताको क्रममा बिरामीका आफन्तले डा. बस्याललाई आक्रमण गरेको अस्पतालले जनाएको छ । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ । कुटपिटबाट घाइते भएका डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ ।

मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्ने भन्दा पनि सुरु देखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको अस्पताल श्रोतले बताएको छ । अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहनामा राखेर निस्कने तयारी भई सकेपछि केही उत्तेजक समूहको भिड पसेर मेसु बस्यालमाथि आक्रमण गरेको एक चिकित्सकले बताए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव बहनामा राखिएको छ ।

मृतकका आफन्तहरूको आक्रमणमा अस्पतालको प्रशासनिक भवनका झ्याल ढोका लगायतका फर्निचरहरू तोडफोड भएको छ। अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन ।

राती २ बजेबाट अस्पताल आउने बिरामीहरू अस्पतालको गेटबाटै फर्काइएको छ भने अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुर्भाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।