१४ औं कपिलवस्तु महोत्सवको तयारी तीव्र

मेचीकाली संवाददाता

१३ मंसिर २०८०, बुधबार
233 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा स्वरोजगारको बलियो आधार, पर्यटन एवम कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १४ औं कपिलवस्तु महोत्सवको तयारी ५० प्रतिशतभन्दा बढी पूरा भएको आयोजकले जनाएको छ ।

यही मंसिर २१ देखि पुष १ गतेसम्म सञ्चालन हुने महोत्सव बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालामा हुँदै छ । मंसिर २१ गतेदेखि सुरु हुने महोत्सवको ५० प्रतिशतभन्दा बढी कार्य पूरा भएको बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष तथा १४ औं कपिलवस्तु महोत्सवका संयोजक राजकुमार खाँणले बताए । विगतका वर्षहरुको तुलनामा भन्दा यसवर्षको महोत्सव पृथक हुने र यस क्षेत्रको ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुराउनेसमेत विश्वस व्यक्त गरे ।

संयोजक खाणका अनुसार हालसम्म ब्राउन्ड्री निर्माण, स्टल निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले सचिवालय, गेट निर्माणको कार्य भइरहेको बताए । त्यस्तै अहिलेको महोत्सवमा करिब २ लाख ५० हजार दर्शक उतार्ने र करिब डेढ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

यसैगरी महोत्सवका निर्देशक तथा बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा (दिनेश) ले कपिलवस्तुको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई चलायमान गर्न यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै महोत्सवमा स्टलहरु विशेष गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिइने छ । स्टल संयोजक मिन थापाले ३ सय स्टलमा २ सय भन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताए । जम्मा ३ सय सटलहरुमा केही स्टल निशुल्क कृषि, घरेलु, शैक्षिकलगायत विभिन्न सामाग्रि प्रदर्शनको लागि प्रदान गरिने स्टल संयोजक थापाले जनाए ।

कफिलवस्तु महोत्सवका मुख्य आकर्षकहरु १२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, विभिन्न झाँकी प्रदर्शनी महोत्सवका प्रमुख आकर्षकहरु हुन । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।