पार्टीलाई बलियो बनाएर छाड्छुः सभापति देउवा

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
141 shares

बुटवल । नेपाली कांग्रेस लुम्बिनीको प्रथम सम्मेलन बुटवलमा शनिबारदेखि सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गरे ।

उदघाटन समारोहमा बोल्दै सभापति देउवाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीलाई बलियो बनाएर छाडने बताए । सभापति देउवाले विश्वभर शान्तिको सन्देश फैलाउने बुद्धभूमि रूपन्देहीको सम्मेलनबाट नेपाली कांग्रेस पार्टी बलियो हुने विश्वास व्यक्त गरे ।
समारोह अगाडि पार्टीका प्रभावशाली नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य हुनुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजान्ने बताउँदै काम गरेर देखाउने बताए । ‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ ?’ सभापति देउवाले भने । देउवाले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे ।
‘चन्द्र भण्डारीको भाषण सुनियो । उहाँसँगै काम गर्नेछौँ’, देउवाले भने । निकै संक्षिप्त बोलेका सभापति देउवाले केन्द्रीय नेता र प्रदेश अध्यक्षहरूले उठाएको सबालको जवाफ दिएनन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पार्टीबाट आउने निर्देशन केन्द्रका सबैबाट एकै किसिमको आउनुपर्नेमा जोड दिएका छन् । बुटवलमा आयोजित कांग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले केन्द्रले एकै किसिमको निर्देशन दिएमा तलको तहले सही तरिकाले काम गर्ने उल्लेख गरे ।

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि फरक फरक विचार राख्न मिले पनि निर्देशन एकै प्रकारले आउनुपर्ने बताउँदै यसो नभए काम गर्न नसकिने दोहो¥याए । उनले कांग्रेसले दुस्मन खोज्न अन्त जानुनपर्ने बताउँदै पार्टीभित्रबाट नै एक अर्कालाई परास्त गर्ने प्रवृत्तिले संगठन बिग्रिरहेको बताए । उनले संघीयताको विषयमा प्रश्न उठिरहेको बताउँदै संविधान कार्यान्वयन गराउन संघबाट दिन सकिने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग गरे । उनले संघले अधिकार नदिँदा कामबिहीन बन्नुपरेको गुनासो गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले शेरबहादुर देउवा पार्टी नेतृत्वमा आउन नहुने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिबार बोल्दै भण्डारीले देउवाले अब पार्टी चलाउन नहुने बताए । ‘हामीले चलाएको गुटले पार्टी चलाउन पनि सकेनौं, सरकार चलाउन पनि सकेनौं,’भण्डारीले भने, ‘सीमा नाका रक्षा गर्न पनि सकेनौं । अब देउवाले नेतृत्व छाडेर शेखरलाई दिनुपर्छ ।’ अब कांग्रेसमा डाक्टरको नेतृत्व आवश्यक रहेको बताए ।

त्यस्तै, सम्मेलनमा वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यलगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतले सम्बोधन गरे ।
सम्मेलनमा प्रदेशका ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको छ ।

कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाका अनुसार बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछ । ती प्रतिवेदनमाथि गम्भीर छलफल गरी पार्टीको आगामी कार्य दिशा तय गर्न सुझावसहितको निचोड निकालिने छ । प्रदेश सम्मेलनमा पार्टीको कामकारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा समेत व्यापक छलफल हुने उनले बताए ।