लैगिंक हिंसाबिरुद्धको अभियानमा सचेतनामूलक सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

१८ मंसिर २०८०, सोमबार
105 shares

बसन्ती आचार्य

कपिलवस्तु । । मायादेवी गाउँपालिका–१ स्थित छत्रपाली तिर्थादेवी माविमा गठन भएको बाल अधिकार चेतना समूह र मानव अधिकार समूह मायादेवीको आयोजना , मायाँदेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा लैंगिंक हिंसा विरुद्धको सचेतना सम्बन्धि सडक नाटक सम्पन्न गरिएको छ । ‘लैंगिंक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने लैगिंक हिंसा विरुद्धको अभियानको अवसरमा बालबालिकाहरुले मङसिर १७ गते मायाँदेवी गाउँपालिकाको १ स्थित पकडी चौकमा सडक नाटक प्रदर्शन गरेका हुन ।

नाटकमा मादक पदार्थ सेवनबाट हुने हिंसा , दाईजो प्रथा , प्रेम विवाह , पति बैदेशिक रोजगारमा गएपछि सासु र नन्दबाट बुहारी र भाउजूलाई गरिने हिंसा र विभेद , हिंसा पश्चात परिवारमा घट्ने घटनाको बिषयमा नाटक मार्फत सचेतना दिईएको थियो । लैगिंक हिंसा न्यूनिकरण गर्न छोरीलाई दाईजो होईन शिक्षामा लगानी लगाउनु पर्ने , घरेलु हिंसा, श्रम शोषण र लैंगिक हिंसाले आर्थिक, समाजिक रुपमा असर पर्ने , लैंगिंक बिभेद हुँदा छोरीहरुले बिभिन्न हिंसाहरु भोग्नुपर्ने हुँदा लैंगिंक हिंसा न्यूनिकरण गर्न आफ्नो घरदेखि नै सचेतना फैलाउनु पर्ने लगाएतको सन्देश मूलक बिषयमा बाल अधिकार समूहका पदाधिकारीहरुले नाटक मार्फत सन्देस दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद तथा छत्रपाली तिर्थादेवी माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मधुसुदन शरण चौधरीले बाल अधिकार चेतना समूहले समाजमा घट्ने वास्तविक घटनालाई समेटेर सन्देश मूलक नाटक प्रस्तुत गरेको बताए । इन्सेकले बिद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठन गरी बिद्यालय देखि समुदाय सम्म सचेतना मूलकका कार्यक्रम संचालन गर्न सहयोग पुराएको भन्दै धन्यवाद दिए । शिक्षा , स्वास्थ्य , वातावरण , जातिय विभेद र लैगिंक हिंसा बिरुद्धको अभियानहरु संचालन गर्दे आएको इन्सेकले मानव अधिकार समूह र वाल अधिकार समूह मार्फत समाजमा हुने वास्तविक घटनालाई न्यूनिकरण गर्न मद्दत पुग्ने उनको भनाई छ । सांसद चौधरीले सभ्य समाज निर्माण गर्न छोरीहरुलाई पूर्ण शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मानव अधिकार लुम्बिनी प्रदेश संजाल अध्यक्ष पुष्पा रेग्मीले छोरीहरुका लागि अभिभावकहरुले शिक्षामा लगानी लगाए लैगिंक हिंसाको कारण महिला बालबालिकाले जोखिम पूर्ण हिंसा भोग्न नपर्ने बताए । नाटकको अवलोकन गर्दै रेग्मीले बिद्यालयका बालबालिकारुले समुदायस्तर सम्म पुगेर नागरिकलाई सचेत बनाउनु महत्वपूर्ण बिषय भएको बताए ।

यस्तै बाल संरक्षक शिक्षक ज्ञानेन्द्र कुमार चौधरीले सडक नाटकको सहजीकरण गर्दै बाल बालिकाको नेतृत्व विकास ,क्षमता अभिवृद्धिसँगै बिद्यालय र समूदायमा महिला माथि हुने घरेलु हिंसा , श्रम शोषण र लैंगिक हिंसा विरुद्धको सचेनता फैलाउन वालवालिकाहरुले सडक नाटक मार्फत अहंम भूमिका खेलेको बताए ।

ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी नायव निरीक्षक बालकृष्ण थापाले सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम मार्फत बिभिन्न सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको बताउँदै जोकोहीले पनि कोही माथि हिंसा नगर्न र हिंसा भयो भने सहेर बस्न नहुने बताए ।

बाल अधिकार चेतना समूहका अध्यक्ष राजकुमार धोवीले बिद्यालयबाट गाउँ समाजमा सम्म पुगेर सकारात्मक खाल्का सचेतना मूलक अभियानहरु संचालन गर्दै आएको बताए । साथै समाजमा हुने बिभिन्न हिंसाहरु न्यूनिकरण गर्न आगामी दिनहरुमा यस्ता खाल्का अभियानहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै सहयोगका लागि इन्सेकलाई धन्यवाद दिए ।

सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष राज कुमार धोवीको संयोजकत्वमा २२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । इन्सेक प्रतिनिधि पार्वती आचार्यको सहजीकरण रहेको कार्यक्रममा सुरक्षाकर्मी , मानव अधिकार समूह , बिद्यालयका शिक्षकहरु , संचारकर्मी , बाल अधिकार चेतना समूहका सदस्यहरु , बिद्यार्थीहरु , स्थानिय लगायतको सहभागिता रहेको थियो ।