टोपलाल अर्याल
गुल्मी। पीडाले मन हतास । चाइनाबगरको चिसो बतास । घामले जमिन छोप्दा पनि पीडाले मन न्यानो छैन । बिहान–साँझ ज्यान खाने जाडो छ । भूकम्पले घर ढलेपछि ज्यानमा सिरेठो छेक्ने ठाउँ छैन । १०१ वर्षका गोरे र ९३ वर्षीया पवि पुन भुकम्पले बेशाहारा बनेका महिनादिन पुगे । उनीहरु भूकम्प गएको रातदेखि करिब २० दिन पालको ओतमा बसे । पुन दम्पत्तिले आयु त भाग्यमानी पाएका हुन् ।
तर, दैवले जीवन जीवन जस्तो कहिल्यै हुन दिएन । किनकि द्वन्द्वमा छोरा वीरबहादुर पुन गुमाए । अरु दुई छोरा विभिन्न बिमारका कारण मरे । अहले भुकम्पले खुल्ला आकाशमा पुरायो । अहिले भूकम्पले घरबास गुमाए पनि भाग्यले ज्यान जोगाए । तर, उनीहरु चिसोले पालनै काल हुनेमा शंका गर्छन् । नसुतेका रात र नरुचेको खानाले बुढेशकाल निकै कष्टपूर्ण बनिरहेको छ । ‘ द्वन्द्वले छोरा ढल्यो भूकम्पले घर । अब जीवनमा गुमाउनुबाहेक प्राप्त गर्नु केही रहेन,’ ९३ वर्षीया पवि पुनले भनिन्, ‘मर्ने बेलामा घर बाहिर भयौँ ।’
चार सन्तानसँगै घरबास गुमाएको पुन परिवार
रुकुम पश्चिको सानीभेरी गाउँपालिका–१ चाइनाबगर भूकम्पको सबैभन्दा प्रभावित ठाउँ हो । १७ कार्तिको भूकम्पले चाइनाबगरमा उठेका घरहरु कम छन् । ढलेका घर र गलेका बेचैन पीडितहरुलाई उद्धारमा खटिएका स्वयंसेवकहरुबाहेक ढाडस दिने राज्य संयन्त्र छैन । गुल्मीबाट खटिएका एमालेका युवा स्वयंसेवकहरुले पालबाट टहरामा सारेपछि प्रेमबहादुर पुनले आँखाबाट आँसु झारे । पुनले भूकम्पबाट छोराबुहारी र नातिनातिना गरेर चार जनासहित घरगोठ गुमाए । कान्छा छोरा गोविन्द पुन त सानो छोरा बोकेर भागेका पनि हुन । तर, माथिबाट झरेका ढुङ्गाले छोरा खोस्यो आफू जोगिए । पुन परिवार अझै पीडाले मुर्छित छ । कैयौँ दिन खाद्यान्न र लत्ताकपडा भत्किएका घरभित्रबाट निकाल्ने हिम्मत आएन । ‘गुमेका सन्तानको पीडा र भूकम्पको त्रासले ननिदाएर कैयौँ रात बिते । ढलेका छोराबुहारी र नातिनातिनासँगै घरको आश त भएन,’उनले भने,‘पुरिएको सम्पत्तिको समेत पाउँला भन्ने भएन ।’
गुल्मीबाट खटिएका युवा स्वयंसेवकहरुले पुनको परिवारलाई पालबाट टहरोमा सारेका छन् । शेरबहादुर पुन र निर्मला पुनको मानवीय क्षति भएन । तर, ढलेका घरहरुसँगै खाने र ओढ्ने ओछ्याउने पुरिए । दुई साता बारीमा पालको ओतसँग चिसो रात कटाए । ‘कैयौँ दिन भोक टार्ने र चिसो छेक्ने उपाय भएन । घर ढल्यो अन्न र कपडा पुरिए,’निर्मला पुनले भनिन्,‘सरकारले पालबाहेक केही दिएको छैन ।’
ष्ट्रपति, प्रधानमन्त्री र नेताहरु भूकम्प प्रभावित क्षेत्रमा पुगेर गफ गरेजस्तो काम गाउँमा काम देखिएन । अहिलेसम्म गाउँमा सरकारले घटना मुचुल्का गरेर सकेको छैन । भूकम्पपीडित बालबालिका, वृद्धा र सुत्केरी चिसोले बिरामी पर्न थालेका छन् । तर, सरकारका संयन्त्र अलमलमै देखिएको स्थानीय समाजसेवी कृष्णबहादुर पुनले गुनासो गरे । उनले गाउँमा अहिलेसम्म गुल्मी एमालेका युवाहरुबाहेक पुनस्र्थापनाको लागि सहयोग गर्न कोही नआएको बताए । ‘गुल्मीको स्वयंसेवक टोली पहिलो पटक आएर भग्नावशेष हटाउने र टहरा निर्माणमा ठुलो सहयोग गरिरहेको छ,’उनले भने,‘अझै मुचुल्का नसक्ने राज्यसंग जनताको के आश ।’ स्थानीयलाई अहिले भूकम्प र चिसोको मात्रै डर छैन । वर्षात् सुरु भएपछि तल भेरी नदिले तान्ने र माथिबाट भूकम्पले चर्किएका पहाड खस्ने चिन्ता उस्तै छ ।
स्वयंसेवक भन्छन्ः आँसुमा डुबेको थियो चाइनाबगर
१७ कार्तिकमा रुकुमपश्चिम र जाजरकोटमा भूकम्प गएपछि नेकपा एमालेले देशभरबाट स्वयंसेवक घटनास्थल खटाउने निर्णय ग¥यो । गुल्मीबाट जिल्ला अध्यक्ष बालसिंह काउछाको नेतृत्वमा १५ जनाको टोली ६ मंसिरमा रुकुम पश्चिम पुगेका थिए । टोलीले १५ दिन भग्नावशेष हटाउने, टहरा निर्माण गर्ने र पीडितलाई मनोसामाजिक परामर्श दिने काम गर्नेछ । टोलीको नेतृत्व गरिरहेका अनेरास्वावियु लुम्बिनी प्रदेशका सहसचिव शोभाखर गिरीले आफूहरु पुग्दा रुकुम पश्चिमको चाइनाबगर आँसु डुबेको बताए । ‘तल भेरी नदि माथि भूकम्पले फाटेका पहाड । चाइनाबगरमा उठेका घर देखिँदैनथे,’उनले भने,‘सबैको आँखामा आँसु देख्यौँ । सरकारको तर्फबाट शव निकाल्नेबाहेकका केही काम भएको रहेनछ ।’
अहिले पनि अधिकांश पीडित बाहिर पालमा र राहतको लागि चिट्टा थुत्ने अवस्था रहेको गिरीले बताए । उनले आफूहरुले द्वन्द्वबाट कोही न कोही परिवारका सदस्य गुमाएका परिवारलाई भूकम्पले दिएको चोट निकै पीडादायी रहेको बताए । सहसचिव गिरीका अनुसार टोलीले अहिलेसम्म गोरे पुन, प्रेम पुन, पदमकला पुन, शेरबहादुर पुन, निर्मला पुन र पल्लबी पुनलगायतका २० परिवारको अस्थायी आवास निर्माण तथा भग्नावशेष हटाउने काम गरिरहेको बताए ।
त्यस्तै भूकम्पले क्षतिग्रस्त भेरीदोभान माविका विद्यार्थीको लागि आठवटा टहरा निर्माण गरेर विद्यार्थीहरुलाई राख्न सफल भएको गिरीले बताए । एमाले गुल्मीले ०७२ को भूकम्प, गुल्मी वडागाउँ दजाकोटको आगलागी र सत्यवती पहिरोलगायतका विपद्मा अस्थायी आवास निर्माण, राहत वितरणलगायतका काममा ठुलो सहयोग गरेको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।