समृद्ध नेपालका लागि एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली

मेचीकाली संवाददाता

२१ मंसिर २०८०, बिहीबार
181 shares

बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत नआउँदासम्म जनताको अपेक्षा पूरा गर्न नसकिने बताएका छन् ।
एमालेको झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिको लागि संकल्प यात्राको सन्दर्भमा गुल्मीको वामी आएका ओलीले एमालेको एकल बहुमतबिना समृद्ध नेपाल निर्माण असम्भव भएकाले जनभावना बुझ्न यो समृद्ध यात्रा सुरु गरिएको बताए । अध्यक्ष ओलीले सरकारमा एमाले रहेन भने दुई वर्षमा नै देश कङ्गाल हुने रहेछ भन्ने कुरा पुष्टि भएको बताए । ‘नेकपा एमालेले बाहेक अरूले यो देश बनाउन सक्दैन, एमालेको एकल बहुमत बिना यो सपना साकार हुनेवाला छैन’, ओलीले भने ।
मिसन २०८४ एमालेको लागि मात्र नभएर देशको विकासका लागि, राष्ट्रियताको लागि, समृद्धि र सुशासनको लागि भएको ओलीले बताए । त्यसैले मिसन २०८४ मा लाग्न ओलीले सबै जनसंगठनलाई निर्देशन दिए ।
एमालेप्रति जनताको ठुलो विश्वास र भरोसा भएको बताउँदै ओलीले त्यो भरोसालाई मर्न दिनुनहुने बताए । एमालेप्रतिको नागरिकको भरोसा पूरा गर्न एमालेको एक बहुमतको सरकार आवश्यक रहेको उनले प्रष्ट पारे ।

एमालेले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रालाई नागरिकले आत्मीयताका साथ सम्मान व्यक्त गरेको उनले बताए । नागरिकको सहयोग, सम्मान र मायाप्रति पार्टीको तर्फबाट ओलीले आभार व्यक्त गरे ।
देशका कुनाकाप्चाका जनताले कस्ता समस्या भोगेका छन्, जनताले कस्तो समस्या भोगिरहेका छन्, भूकम्पपीडितको अवस्था कस्तो छ, विकासको अवस्था र सरकारका कामका बारेमा बुझ्ने मौका समृद्ध संकल्प यात्राले दिएको ओलीले बताए । एमालेका स्वयंसेवकले कसरी काम गरेका छन् भन्ने कुरा हेर्न पनि यात्रा आयोजना गरिएको उनले बताए ।
सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा काम नभएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । यात्राका क्रममा भूकम्पको अवस्थासमेत बुझ्ने मौका मिलेकाले राहत र पुनर्निर्माणमा सरकारको लज्जास्पद स्थिति रहेको उनले बताए । उनले सामान्य पालमा सुत्केरी, शिशु र वृद्धवृद्धाको अवस्था कन्तबिजोक अवस्थामा रहेकाले सरकारले काममा तिब्रता दिनुपर्ने बताए । नागरिकलाई छिटो आवासको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।

भूकम्पमा अस्थायी आवास निमार्ण र भग्नावशेष हटाउन खटिएका एमाले स्वयम्सेवकले गरेको काम निकै उदाहरणीय रहेको भन्दै प्रसंशा गरे । नेकपा एमालेका समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय गन्तव्य बनाएको नेकपा एमाले सिङ्गो नेपाललाई समृद्ध बनाउने अभियानमा लागेको ओलीले बताए । कसैले पनि अधिकार र अवसरबाट वञ्चित हुनु नहुनेमा ओलीले जोड दिए । ‘यही हो समृद्ध नेपाल, सुखी नेपाली भनेको, त्यसका लागि नेकपा एमाले अघि बढिरहेको छ’, उनले भने ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरूलगायतका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्यसहितका नेताहरूलगायतको सहभागिता रहेको अभियानमा प्रेस चौतारी नेपालको नेतृत्व गरिरहेका प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए । मंसिर १४ गतेदेखि सुरू भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा एमालेको टोली बुधबार गुल्मी आइपुगेको हो ।