१४ औं कपिलवस्तु महोत्सव सुरु

राजनीतिक दल र नेताहरु सुध्रिन आवश्यकः नेता भण्डारी

मेचीकाली संवाददाता

२१ मंसिर २०८०, बिहीबार
343 shares

पार्वती आचार्य

कपिलवस्तु, मंसिर २१ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारीले नेपालका हरेक राजनैतिक दलहरुले अब बाटो र नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । राजनीतिक दल र राजनीतिक दलका नेताहरुको कामबाट जनताका जनअपेक्षाहरु पूरा हुन नसकेको भन्दै अब पनि नेताहरु नसुध्रिए जनताले गलत नेताहरुको विरुद्ध ठुलो विद्रोह गर्ने चेतावनी दिएका छन् । १४ औँ कपिलबस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

सांसद भण्डारीले पार्टी र गुटको नाममा देशलाई लुट्ने छुट कसैलाई पनि नभएको बताए । उनले पछिल्लो समय देशको अर्थतन्त्र बिगिँ्रदै गएको अवस्थामा बैंकहरुको व्याजदर ८ प्रतिशतबाट १६ प्रतिशतसम्म पुग्दा किसान र उद्योगीहरु बढी समस्यामा परेको बताउँदै जनताको समस्यामा राज्य मौन बस्ने हो भने त्यो राज्य किन चाहियो भन्ने प्रश्नसमेत गरेका थिए । महोत्सवमा रहेका स्टलहरुमा स्थानीय उत्पादन हुनुपर्ने उनले बताएका छन् । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सके मात्र महोत्सवको औचित्य रहने सांसद भण्डारीको भनाइ छ । अहिले महोत्सव लागिरहेको बुद्ध रङ्गशालामा आवश्यकताको आधारमा भौतिक संरचना बनाएर खेलको विकास गर्न आवश्यक भएको बताए । पछिल्लो समय नेपाली खेलाडीहरुले विश्वभर नाम कमाइरहेको भन्दै खेल क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउनको लागि कपिलवस्तु महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रलाई प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई माथि उठाएको सांसद अधिकारीले बताए । महोत्सवलाई व्यवसायिक दृष्टिकोण बाट मात्र नहेरेर समग्र जिल्लाको स्थानीय कृषि र कृषक, व्यापार, व्यवसायको हित हुनेगरि अघि बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै काङ्ग्रेस नेता अत्तहर कमाल मुसलवानले जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले ऐतिहासिक रहेकाले पर्यटकहरुको सङ्ख्या बढाउने गरी योजना बनाउनुपर्ने बताए । सांसद रुपा पोख्रेल, प्रदेश सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याललगायतले बोल्दै महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्ने बताए ।
महोत्सव संयोजक तथा आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जिल्लाको समग्र पहिचान बोकेको यस महोत्सवलाई सफल पार्न हरेक क्षेत्रका व्यक्ति र संघसंस्थाले सहयोग गर्ने बताए । उनले जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको लक्ष्य रहेको बताए ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ बिहीबारदेखि सुरु भएको १४ औं महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा स्थानीय उत्पादन, कृषि, हस्तकलालगायतको स्टल रहेको छ । यसैबिच महोत्सवमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय रेश्लिङ प्रतियोगितासमेत हुने छन् । यस्तै शुक्रबार अनुचौधरी, प्रिन्स लम्साल, रमेश निर्दोष, संगीता चितौरेलगायत स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाइएको छ । यस्तै शुक्रबारदेखि नै १२ औ कपिलवस्तु डान्स आइडाल प्रतियोगिता सुरु हुने छ ।