बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ, बुटवल शाखाले आफ्नो १५ औं वार्षिक भेला तथा १६ औं स्थापना दिवस शुक्रबार मनाएको छ । ‘पूर्वाधार विकास, राष्ट्र निर्माणको आधार बनौं सबै जिम्मेवार’ भन्ने संघको मूल नारा रहेको छ । भेलामा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले निर्माण क्षेत्रको भुक्तानी राज्यबाट नपाउँदा व्यवसायी थला परेको बताउँदै छिट्टो भुक्तानी गर्न आग्रह गरे । आफूहरुले गरेको विभिन्न चरणका आन्दोलनको पनि राज्यबाट कुनै सुनुवाई हुन नसकेको रायमाझीले गुनासो गरे ।
लुम्बिनी निर्माण व्यवसायी संघ, बुटवल शाखाका अध्यक्ष बुद्धि थापाले राज्यले पूँजीगत खर्च घटाउदा निर्माण व्यवसायीलाई ठूलो असर पु¥याएको बताए । निर्माण क्षेत्रमा हुने विभिन्न झण्झटले व्यवसायीहरुले समयमा काम गर्न नपाएको बताउँदै त्यस्ता बाधाहरुलाई समाधान गर्न राज्यबाट पहल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरू जविन कक्षपति, गणेश शर्मा, जिल्ला अध्यक्ष दीपक शाही, जिल्ला सल्लाहकार मन्जु भुसाल, प्रदेश उपाध्यक्ष सहदेश खड्का, नवराज श्रेष्ठ, एन्फा उपाध्यक्ष दीर्घबहादुर केसी, पूर्वउपाध्यक्ष रुद्र शर्मालगायतले बोल्दै व्यवसायीको पक्षमा राज्य अनुदार भएको बताए । कार्यक्रमकै अवसरमा संघले संस्थापक अध्यक्ष तथा संरक्षक भीमबहादुर श्रेष्ठलाई सम्मान गर्नुका साथै मैनाबगरस्थित आधारभूत स्कूललाई शैक्षिक सामग्री प्रदान गर्ने संघका सदस्य मनोज गौचनले जानकारी दिए । संघका सदस्य दीपक खड्गीको स्वागत तथा सहसचिव नवीन पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रुपन्देही जिल्लामा ४५० व्यवसायीहरु आवद्ध रहेका छन् । नेपालमा १६ हजार व्यवसायीहरु छन् ।