तिलोत्तमा । तिलोत्तमाको कुँवरवर्ती बोर्डिङ हाई स्कुलमा शनिबारदेखि पाँचौँ तिलोत्तमा उपमेयरकप खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले महिलाहरुको मानसिक र शारीरिक स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताइन् । कुँवरवर्ती बोर्डिङले महिला भलिबलसहित अन्य खेलकुद प्रतियोगिताको राम्रो व्यवस्थापन गरेको र जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको भन्दै उनले प्रशंसा गरिन् ।
कुँवरवर्ती बोर्डिङ हाई स्कुलका प्राचार्य दीपक खनालले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेललाई स्थानीय सरकारले पनि प्राथमिकतामा राखेर वजेट दिनुपर्नेमा विगत भन्दा इभेन्टहरु र वजेट कटौती गरिनु दुखद भएको बताए । लिग कम र बेस्ट अफ फाइभका आधारमा खेलाइने प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ टिमले भाग लिएका छन् । जसमा रुपन्देहीका न्यू होराइजन, एभरेष्ट, कुँवरवर्ती, सेन्ट जोसेफ, शान्ति नमूना र कपिलवस्तुको हिलबर्ट बोर्डिङले प्रतिस्पर्धा गर्दैछन् ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ६१ हजार, उपविजेताले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुने टिमले ११ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए । राष्ट्रिय टिममा खेलेका उत्कृष्ट खेलाडीहरु समेत खेलिरहेको प्रतियोगिता हेर्न भलिबल खेलप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको छ ।