सहकारीमार्फत कृषि र उत्पादनमा प्राथमिकता दिनुपर्छः सांसद पन्थी

मेचीकाली संवाददाता

२३ मंसिर २०८०, शनिबार
212 shares

पार्वती आचार्य

कपिलवस्तु । कृषि सहकारीमार्फत कृषि व्यवसायलाई कृषि र उत्पादनमा प्राथमिकता दिन सके सहकारीको स्तरलाई वृद्धि गर्न सकिने प्रदेशसभा सदस्य बिष्णु पन्थीले बताएका छन् । सरकारको स्थायीत्व नभएको कारण र प्रदेशमा पटकपटक सरकार फेरबदल हुने प्रवृत्तिले गर्दा कृषि क्षेत्रमा धेरै चुनौती भएको बताए । बाणगंगा–७ मोतिपुरस्थित जनसेवा कृषि सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभालाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रदेशसभा सदस्य पन्थी सो कुरा बताएका हुन् ।

‘कृषिलाई उत्पादनमा वृद्धि गर्न कृषकहरुले समयमा बिउबिजन र मलखाद पाउनु पर्ने हो, सरकार जिम्मेवार नहुँदा कृषि क्षेत्रमा ठुलो नोक्सान हुन गएको छ ।’ उनले भने । कृषि क्षेत्रलाई व्यवसायीक रुपमा उकास्न सरकमरले कृषि सहकारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सहकारीले ऋण लगानी गर्दा कस्ता व्यक्तीहरुलाई लगानी गरेको छ, अनुगमन गर्नुपर्ने र सहकारी भनेको आयआर्जनमार्फत जीवनस्तरलाई माथि उकास्ने एउटा आधार भएको भन्दै बचतलाई वृद्धि गर्नुपर्ने सांसद पन्थीले बताए ।
कार्यक्रममा बाणगंगा नगरपालिका–७ का अध्यक्ष बिष्णु गिरीले सहकारीको प्रगति हुँदै जानु गौरवको विषय भएको बताए । ३२ जनाको सेयरबाट सुरु गरेको यस सहकारीले १ हजार बढी सेयर सदस्य पुग्न सफल भए पनि यसको स्तरलाई अझ वृद्धि गर्न सेयर सदस्यहरु वृद्धि गर्न आग्रह गरे ।

बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेषबहादुर केसीले कृषि सहकारीहरुले कृषि क्षेत्रमा लगानी लगाउनुपर्ने बताए । कृषि क्षेत्रलाई फराकिलो बनाउन समूहमार्फत संचालन गरिनुपर्ने बताउँदै कृषि क्षेत्रमा बजेट न्यून हुने हुँदा किसानहरुको अपेक्षाहरु पूरा गर्न नसकिएको बताए ।
यसैगरी बाणगंगा नगरपालिकाका सहकारी विभाग प्रमुख सन्जुदेवी आचार्य, वडा सदस्य हरिशंकर पौडेल, फुलबारी सामुदायिकका वनका अध्यक्ष जयलाल गिरीलगायतले धारणा राखेका थिए ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष टोपबहादुर थापाले आर्थिक प्रगती प्रतिवेदन तथा नीति तथा भावि योजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक झगेश्वर अर्यालले लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्दै लेखाको नीति र लेखासम्बन्धी टिप्पणीको बारेमा जानकारी दिए ।
यस्तै कोषाध्यक्ष अम्मरबहादुर गुरुङ्गले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ४ करोड, ८६ लाख, ७ हजार १५ रुपैंया पुँजी बराबरको कारोवार गर्न सफल भएको जानकारी दिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट कृषक, एसईईमा उत्कृष्ठ विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो । सहकारीमा हाल १ हजार ५० शेयर सदस्य रहेका छन् । संस्थाका अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष रामबहादुर बस्नेतको स्वागत तथा सचिव मिना थापा क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।