बुटवल । कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुनप्रसाद सापकोटाको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका–३ का अध्यक्ष कल्याणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै वडाध्यक्ष पौडेलले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानि गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने उनले बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका सहकारी शाखा प्रमुख गणेश पौडेलले नगरपालिकामा भएका सहकारीहरु धेरै जसो सुरक्षित रहेको जानकारी गराए । संस्थाले उत्कृट काम गरी शेयर सदस्यको मन जित्नुपर्ने उनले बताए । कार्यक्रममा संस्थाका सल्लाहाकार बाबुराम अधिकारी, बेलप्रसाद शर्मा, पूर्वअध्यक्ष यज्ञप्रसाद सापकोटालगायतले सहकारी संस्थाले सहकारीको मर्म र भावनाअनुसार काम गरेमा सहकारीमा जोखिम कम हुने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । सो अवसरमा संस्थाका कोषाध्यक्ष हरिप्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक बलराम ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा छलफलसहित अनुमोदन भएको थियो । संस्थाकी उपाध्यक्ष प्रभा भण्डारी घिमिरेको स्वागत तथा सचिव कल्पना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।