हीरक जयन्ती मनाउँदै उजिरसिंह मावि

मेचीकाली संवाददाता

२५ मंसिर २०८०, सोमबार
244 shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको उजिरसिंह माविले आफ्नो स्थापनको ६० औं वर्ष हीरक जयन्तीका रुपमा मनाउने भएको छ । पुस ७ गते परेको स्थापनाको ६० औं वसन्तलाई हीरक जयन्तीका रुपमा विद्यालयले मनाउने भएको हो । हीरक जयन्तीलाई सप्ताहब्यापी कार्यक्रम गरेर विद्यालयले मनाउने भएको सोमबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

हीरक जयन्ती मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमलबहादुर शाक्यले हर्षाेउल्लासका साथमा हीरक जयन्ती मनाउने गरी तयारी थालिएको जानकारी दिए । मंसिर २५ गतेदेखि पुस ७ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर हीरक जयन्ती मनाउन थालिएको छ । विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले सोही अवसरमा सोमबार मंसिर २६ गते विद्यालय परिषरमा वृहत् रक्तदान, मंसिर २७ गतेदेखि पुस १ गतेसम्म जिल्लास्तरीय भलिबल प्रतियोगिता, पुस १ गतेनै अन्तरसदनात्मक भलिबल प्रतियोगिता, पुस २ गते टोल विकास संस्थास्तरीय हाजिरीजवाफ प्रतियोगितासँगै साहित्यिक कार्यक्रम, पुस ३ गते विभिन्न खेलकुद प्रतियोगिता, पुस ४ गते नगरस्तरीय विद्यालय वक्तृत्वकला प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम र पुस ५ गते नगरस्तरीय विद्यालय सांस्कृतिक प्रतियोगिता गरिने छ ।

पुस ७ गते हीरक जयन्ती मूल समारोह र सोही दिन उजिरसिंह स्मारिका विमोचन, विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थालाई सम्मान कार्यक्रम हुने छ । मूल समारोहको पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विद्यालयका प्रअ ज्ञवालीले एक हजार एक सय ६६ जना विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा २८ शिक्षक कर्मचारीले अध्यापन गराउँदै आएको उल्लेख गर्दै प्राचार्य ज्ञवालीले विद्यालय आर्थिक रुपले समस्यामै रहेको बताए । पत्रकार सम्मेलनमा विद्यालयका राजमार्ग वारि र पारि गरी ३१ वटा सटर विद्यालयका नाममा रहेतापनि तीमध्ये केहीको मात्र भाडा उठ्ने गरेको बताउँदै विद्यालय सञ्चालनका लागि समस्या रहेको बताएको छ ।

विद्यालयका शिक्षक यमप्रसाद श्रेष्ठको सञ्चालनमा भएको पत्रकार सम्मेलन कार्यक्रममा रुपन्देहीका पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, शिक्षक अभिभावक संघका सुहाबहादुर नेपालीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।