३२औं अन्तराष्ट्रिय लैंगिंक हिंसाबिरुद्धको १६ दिने अभियान समापन

मेचीकाली संवाददाता

२६ मंसिर २०८०, मंगलवार
178 shares

पार्वती आचार्य

कपिलवस्तु । ‘लैंगिंक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३२औं अन्तराष्ट्रिय १६ दिने लैंगिंक हिंसा बिरुद्धको अभियान २०२३ को समापन तथा अन्तरक्रिया कार्यक्रम समापन गरिएको छ । जिल्ला समन्वय समिती कपिलवस्तुको आयोजना तथा गैर सरकारी महासंघ कपिलवस्तुको समन्वयमा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिका, गैसस महासंघ, युएनएफपीए, इन्सेक, युएमएन, ओरेक, माहुरी होम, साथी, महिला मानव अधिकार रक्षक संजाल , दलित सामाजिक बिकास केन्द्र , ईन्द्रेणी, किर्डार्क, आईएनएफ, कालिका, दलित महिला संघ कपिलवस्तु , किशोरी अधिकार मञ्च, सिद्धार्थ सामाजिक बिकास केन्द्र लगाएतका संस्थाहरुको सहयोग रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले लैगिंक हिंसा न्यूनिकरण गर्न जिम्मेवारी प्राप्त गरेका न्यायीक समितीहरुले आफ्नो जिम्मेवारीलाई पालना गर्न आग्रह गरे । सबैले मानव अधिकारको संरक्षण गर्नुपर्ने र लिंगको आधारमा महिलालाई हिंसा गर्न नहुने र हिंसा कसैले पनि सहनु हुँदैन म पनि हिंसा गर्दिन र अरुलाई पनि हिंसा गर्न दिंदिन भन्ने लक्षलाई लिएर अगाडी बढेमा हिंसा स्वत घट्दै जाने बिश्वास व्यक्त गर्नुभयो । लैगिंक हिंसा न्युनीकरणकालागि घर परिवार देखि नै अभियान चलाउनु पर्ने बताउँदै अभियान १६ दिन मात्र नभै तिनसय पैसठ्ठी दिननै चलाउनु पर्ने प्रमुख आचार्यले बताए । कार्यक्रममा दश स्थानियतहलाई नै खबर गरे पनि दुई पालिकाका मात्र उपस्थिती भएको र आठ स्थानियतह बाट उपस्थिती नहुनु दुखको बिषय भएको बताए ।

सो अवसरमा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासेले यस्तो महत्वपुर्ण कार्यक्रममा स्थानियतहहरुको उपस्थित नहुनु दुःखदायी कुरा भएको बताइन । कार्यक्रममा बरिष्ठ मानव अधिकारकर्मी रामदयाल ठाकुर , रविन्द्रनाथ ठाकुर , नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य लगायतले आ आफ्नो धारणा राख्दै लैंगिंक हिंसा न्यूनिकरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । स्थानियतहहरुमा स्थापना भएका न्यायीक समितीहरु सक्रियता भई स्थानिय तहमा बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न सके हिंसा न्यूनिकरणमा टेवा पुग्ने वक्ताहरुको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिवस्तुका डीएसपी गंगा बहादुर थापाले हिंसा , लैगिंक हिंसा , लैगिंक हिंसाका स्वरुपहरु , लैंगिंक हिंसाका वास्तविकता , राज्यको दायित्व , कानुनी व्यवस्था , महिला हिंसाको कपिलवस्तुको अवस्था , कपिलवस्तुमा प्रहरीको प्रयास , महिला हिंसा तथा महिला विरुद्धका अपराध सम्बन्धि कपिलवस्तु जिल्लाको अवस्था , घरेलु हिंसाको जिल्लामा भएका पञ्चवर्षीय तथ्यांक , महिला हिंसा सम्बन्धि पञ्चवर्षिय उजुरी संख्या , चुनौती लगाएतको बिषयमा प्रस्तुत गरेका थिए ।

यस्तै सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख रामकरण पालले लैगिंक हिंसाको लुम्बिनी प्रदेशको अवस्थाको बारेमा जानकारी दिए । कपिलवस्तु जिल्लाको लैंगिक हिंसाको अवस्था , न्यायीक समितीको न्याय सम्पादनबारे अधिकारकर्मी दिनेशमणि त्रिपाठीले प्रस्तुत गरे ।

कार्यक्रममा खाना बनाउने प्रतियोगिता र डौड प्रतियोगितामा प्रथम , द्वीतीय र तृतिय हुने प्रतियोगिहरुलाई प्रमाणपत्र र डिस्नेरी पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा लामो समय देखि आपांगहरुको अधिकारको पक्षमा पैरवी गर्दै अपांग मैत्री समाज निर्माणको पक्षमा आवाज उठान गर्दै मानव अधिकारको क्षेत्रमा अनवरत संघर्ष गर्दै मानव अधिकारको क्षेत्रमा पुराएको योगदानको उच्च मुल्यांकन गर्दै ७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस २०८० को अवसरमा नगद सहित सम्मानपत्रले लुम्बिनी अपांगता बिकास केन्द्रका अध्यक्ष ओरीराम चौरासियालाई सम्मान गरिएको छ ।

यस्तै दलित महिलाहरुको शसक्तिकरण एवं अधिकारको पक्षमा पैरवी गर्दै आएको उच्च मुल्यांकन गर्दै दलित महिला संघकी अध्यक्ष मायाँ नेपाली र हिंसा प्रभावित , रोगी , महिला बालबालिकाहरुलाइ रत्त, उपलब्ध गराउन सधै तत्पर रहने नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाका मन्त्री सन्तोष कुमार श्रीवास्तवलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा जिल्ला समन्वयका उपप्रमुख रमेश कुर्मी, महाराज नगरपालिकाका उपमेयर , मायाँदेवी गाउँपालिकाका उपाध्यक्ष , समन्वय अधिकारी भूमिराम पोखरेल , मानव अधिकारकर्मीहरु , बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु , किशोरी अधिकार मञ्चका प्रतिनिधिहरु , बाल संजालका प्रतिनिधिहरु , सुरक्षाकर्मीहरु र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता ,गैर सरकारी महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेयको स्वागत तथा खरिदार सुरेन्द्र प्रसाद बेल्वासेको संचालनमा कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।