भारतसँग नेपाल ५२ रनमै अलआउट

मेचीकाली संवाददाता

२६ मंसिर २०८०, मंगलवार
323 shares

काठमाडौं । यू–१९ एसिया कप अन्तर्गत भारतविरूद्ध नेपालले कमजोर ब्याटिङ गरेको छ । दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो । पाँच ओभरदेखि विकेट गुमाउन थालेको नेपालको दश ओभर चल्दा महत्वपूर्ण छ विकेट पतन हुँदा सुरूमै संकटमा परेको थियो ।

पहिलोदेखि छैटौं विकेट गुमाउँदा नेपालले १२ रन मात्र जोड्न सकेको थियो। नेपालविरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले सुरूवातदेखि नै घातक बलिङ गरेका थिए । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे। नेपालले सातौं ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमायो । उत्तम थापा मगर शून्यमा राजबाटै बोल्ड भए । यस्तै आठौं ओभरमा तेस्रो बलमा अर्जुन कुमाल ७ रनमा क्याच भए । कप्तान देव खनाल नवौ ओभरको पाँचौ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट भए । दुवैलाई राजले नै पेभिलियनको बाटो देखाए ।

दशौं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा आराध्य शूक्लाको एलबिडब्लूको धरापमा परे। जसका कारण नेपालले १० ओभरमा ६ विकेट गुमाउँदा २१ रन मात्र जोड्यो । सातौं विकेटको रुपमा दीपक बोहरा ’बी’ १२.५ ओभरमा ७ रन जोडेर आउट भए । यस्तै दिपेश कँडेल पनि ७ रनमै आउट भए । सुवास भण्डारी २ रन र हेमन्त धामी ८ रनमा आउट हुँदा नेपालका कुनै पनि ब्याटर दोहोर अंकमा रन बटुल्न सफल भएनन् । नेपालले खेलमा केवल ४ चौका मात्र प्रहार गर्न सक्यो ।

बलिङमा भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दा केवल १३ रन मात्र खर्चिएका थिए । उनी सुरुवातको ओभरदेखि नै नेपाली ब्याटरमाथि हाबी बनेका थिए । यस्तै आराध्य शुक्लाले पनि २ विकेट लिन सफल भए । उनले ९ ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए ।

समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले समूह चरणको अन्तिम खेलेका हुन् । यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २÷२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल भने अंकबिहीन हुँदै पुछारमा छ ।