हरि शर्मा
परासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वलाई अहिले पनि शान्तिको आवश्यक रहेको बताएका छन् । मानवजाति रहेसम्म शान्ति आवश्यक रहेको बताउँदै प्रचण्डले २१ औं शताब्दीमा विश्वभर शान्तिको महत्व बढेर गइरहँदा आफू त्यसका लागि इमानदार र दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाए ।
नवलपरासीको रामग्राम नगरपालिकास्थित ‘रामग्राम स्तूप’ मा मंगलबार आयोजित ‘विश्व शान्तिका लागि दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका बताएका हुन् । ‘रामग्राम स्तूप गौतम बुद्धको एक मात्र सिङ्गो अस्तुधातु रहेको स्थान हो ।
विश्वलाई अहिले पनि शान्तिको आवश्यक छ त्यसका लागि म गौतम बुद्धको पवित्र स्थल रामग्राम स्तूपबाट उभिएर भन्छु,‘गौतम बुद्धको शिक्षाबाट प्रेरणा लिँदै शान्ति स्थापनाका लागि विश्व समुदाय एकजुट हौं ।’ रामग्राममा भएको दीप प्रज्ज्वलनबाट विश्व समुदायमा शान्तिको नयाँ सन्देश गएको उनको तर्क थियो ।
प्रधानमन्त्री प्रचण्डले आफू सम्राट अशोकासँग अभिप्रेरित भएको बताए । ‘युद्धको साम्राज्य स्थापित गर्ने एउटा सम्राट युद्धबाट शान्तिमा आएर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अशोक स्तम्भ स्थापना गरी विश्वभर शान्तिको सन्देश दिन सक्छन् भने म सानो युद्धबाट आएको मान्छेले किन गर्न सक्दिनँ भन्ने लागेर शान्ति स्थापनाका निम्ति लागि रहेको छु ।’ प्रधानमन्त्री प्रचण्डले भने । आफूले शान्तिको कुरा गर्दा टिकाटिप्पणी हुने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रमा बोल्ने अधिकार सबैलाई छुट भएकाले शान्ति स्थापनाका लागि आफू इमान्दार र दृढतापूर्वक लाग्ने बताए । राजनीतिक प्रसंग नै नकोट्याएका प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र धार्मिक महत्व बोकेको रामग्राम स्तूपलाई स्थापित गर्दै विकास र संरक्षणका लागि आफू लागिरहेको बताए ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघका महासचिव आएको प्रसंग स्मरण गर्दै अगाडि भने,‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उनको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो ।’
उनले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएका बताए । उनले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको बताए । उनले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए ।
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिलौराकोट, लुम्बिनी र रामग्राम स्तुपलाई समेटेर सरकारले वृहत्तर योजना अघि सारेको जानकारी दिए । ‘नेपाल बहुभाषिक, बहुजातीय मुलुक भए पनि सबै धर्म र समुदायले बुद्ध दर्शनलाई अङ्गालेका छन्, यही नै हाम्रो धार्मिक सहिष्णुता हो, यही नै हाम्रो एकताको सन्देश हो’, उनले भने । विश्वका बौद्धमार्गी, देश विदेशका संघ संस्थाका प्रतिनिधिलगायतको सहभागीता रहेको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा, पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्ण, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवलगायतले रामग्राम स्तूप क्षेत्रको विकासले गति लिनेमा जोड दिएका थिए ।