नर्वेजियन राजदुत ड्रामन्डललाई कपिलवस्तुमा स्वागत

मानव अधिकार समूह र सरोकारवालाहरुसंग छलफल

मेचीकाली संवाददाता

२८ मंसिर २०८०, बिहीबार
243 shares

पार्वती आचार्य

कपिलवस्तु । नर्वेजियन राजदुतलाई कपिलवस्तु नगरपालिका र मानव अधिकार समूह कपिलवस्तुको संयुक्त आयोजनामा कपिलवस्तुको तौलिहवामा स्वागत गरिएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, वडाअध्यक्षहरु र बिभिन्न सरोकारवालाहरुले नर्वेजियन राजदुतलाइ कपिलवस्तुको नगरपालिकामा स्वागत गर्नु भएको हो ।

मानव अधिकार समूह र जिल्लाका सरोकारवालाहरुसंग नर्वेजियन राजदुत टोरन ड्रामन्डलले छलफल तथा अन्तरक्रिया गर्दै नेपालका बिभिन्न स्थानहरुको अवलोकन गर्ने र त्याहाँको मानव अधिकारको अवस्थाको बारेमा बुझ्दै आएको बताउनु भयो । यस्तै कपिलवस्तु नगरपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूह र सरोकारवालाहरुसंग छलफल गर्दै यस कपिलवस्तु जिल्लाको मानव अधिकारको अवस्थाबारे जानकारी लिन आएको बताउनु भयो । मानव अधिकार समुहले जिल्लाको मानव अधिकार लैगिंक हिंसा लगायतका बिषयका बारेमा तौलिहवा सरोकारवाला बिच राखेको कार्यक्रममा राजुदत ड्रामन्डल, अतिथी सचिव एन्डेरिया सिलकोसेट, होयान बिक्टोरिया , डरहिम लगायतको टोली सहभागी हुनु भएको थियो ।

राजदुत ड्रामन्डलले कपिलवस्तुमा बाल बिवाह धेरै हुने गरेको कुरा सुन्दा दुःख लागेको बताउनुभयो । उहाले नेपालको संबिधान महत्वपुर्ण र उपलब्धीमुलक रहेता पनि कार्यान्वयमा भने मजबुद नभएको बताउनुभयो । उहाले आफ्नो देशले मानव अधिकारको सम्मान गर्ने गरेको समेत बताउनुभयो । नेपालसंगको ५० बर्ष भन्दा लामो सम्बन्ध रहेको र विकासको साझेदारीका लागि अघि बढेको राजदुत ड्रामन्डलले बताउनुभयो ।

इन्सेक केन्द्रिय कार्यालय काठमाडौंका कार्यकारी निर्देशक बिजयराज गौतमले नगरपालिका र मानव अधिकार समूहसंग छलफल गर्नुको मुख्य उद्देश्य भनेको कपिलवस्तु जिल्लाको मानव अधिकारको अवस्था र मानव अधिकार समूहले कार्यहरु कसरी संचालन गरेको छ भन्ने बिषयमा जानकारी लिन र समस्याहरुको बारेमा जान्ने र बुझ्ने उद्देश्यले यस जिल्लाको कपिलवस्तुमा छलफल तथा अन्तरक्रिया गरिएकोे बताउनु भयो ।

जिल्ला समन्वय समितीका प्रममुख बाबुराम आचार्यले हरेक क्षेत्रमा पछाडि परेको यस कपिलवस्तु जिल्लामा इन्सेक र मानव अधिकार समूहले बिभिन्न कार्यक्रमहरु तथा अभियानहरु संचालन गरि राम्रो काम गरेको बताउनु भयो । प्रमुख आचार्यले कपिलवस्तुमा बिगतको तुलनामा मानव अधिकारको अवस्था राम्रो भएको बताउँदै ईन्सेकले मानव अधिकारको रक्षाका लागि उदाहरणीय कार्य गरेको बताउनुभयो । इन्सेक प्रतिनिधि र मानव अधिकार समूहले लैगिंक हिंसाका बिभिन्न घटनाहरुलाई संकलन गर्ने र कानुनी उपचार सम्म पुग्न नसक्ने हिंसामा परेका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिनुभयो । इन्सेकले जिल्लाको दुई स्थानियतहमा मात्र होईन दश स्थानियतहरुमा अभियान संचालन गरी मानव अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नर्वेजियन राजदुतलाई भगवान गौतम बुद्धको नगरीमा स्वागत गर्ने अवसर दिलाउने इन्सेक परिवार र मानव अधिकार समूह कपिलवस्तुलाई धन्यवाद दिनु भयो । यस नगरपालिकामा इन्सेकले मानव अधिकारको संरक्षणका लागि नगरपालिकाका बिभिन्न वडाहरुमा पुगेर समस्याहरु पहिचान गर्ने र नगरपालिका र वडा कार्यालयलाई सचेत गराउनु नै मुख्य उपलब्धि भएको बताउनु भयो । शिक्षा , स्वास्थ्य , वातावरण , लैगिंक विभेद लगाएतको अधिकारको क्षेत्रमा गाउँगाउँ पुगेर अभियान संचालन गर्ने इन्सेक र मानव अधिकार समूहसंग कपिलवस्तु नगरपालिकाले सदैव समन्वय सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । नगरपालिकाको गरिमा उच्च राख्न निशुल्क शिक्षा संचालन , स्वास्थ्य बिमामा ५० प्रतिशत छुटको व्यवस्था नगरपालिकाले गरेको समेत जानकारी दिनु भयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले कपिलवस्तु नगरपालिका सदरमुकाममा रहेता पनि अधिकांश क्षेत्रहरु ग्रामीण भेग रहेकाले यहाँको शैक्षिक तथा मानबीय सुचकांकमा सुधार गर्न लक्षित कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो । शिक्षा नै प्रमुख प्राथमिकता रहेको बताउँदै मानवअधिकारका क्षेत्रमा सुधारका लागि नगरपालिकाले रणनैतिक योजना बनाएर कार्य गरिरहेको जनाउँदै यस नगरपालिकामा शिक्षा , स्वास्थ्य र वातावरणको बिषयमा इन्सेक र मानव अधिकार समूहले राम्रो कार्य गर्दै आएको श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा माहुरी होम कपिलवस्तु अधिकारकर्मी रबिन्द्रनाथ ठाकुरले जिल्लाका अधिकांस पालिकामा मानव अधिकारको समिती नबन्नु दुखको बिषय भएको बताउनुभयो । बिगतमा दलित अल्पसंख्यक महिलाहरुका लागि छुट्टाईने बजेट भने अहिले कसैले पनि चासो नदिएको बताउनुभयो । कपिलवस्तुको मानव अधिकारको अवस्था पहिला भन्दा सुधार आएको बताउँदै इन्सेकले लैगिंक हिंसा न्यूनिकरण गर्न प्रत्येक वर्ष मानव अधिकार वर्ष पुस्तक प्रकाशनले सहयोग पुराएको बताउनु भयो ।

लैगिंक यौनिक तथा अल्पसंख्यक समुदायकी अभियान्ता प्रेरणा बिष्टले आफ्नो समुदायले अझै पनि धेरै कुराको बिभेद सहन परेको बताउनुभयो । लैंगिंक यौनिक तथा अल्पशंख्य समूदायलाई अझै पनि सहज रुपमा समाजले स्वीकार गर्न नसकेको उहाँको भनाई छ । कपिलवस्तु जिल्लामा लैंगिंक यौनिक तथा अल्पशंख्यको संस्ख्या ४ हजार बढी रहेको बताउँदै यस समुदायलाई अगाडी बढाउन इन्सेक लगाएतका बिभिन्न संघ संस्थाहरुको ठुलो सहयोग भएको बताउनु भयो । सो अवसरमा लक्ष्मी चौरसिया, साधिका रैदास लगायतले मानव अधिकारको अवस्था बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले मानव अधिकार समूहले स्थानियतहमा गरेका शिक्षा , स्वास्थ्य , वातावरण , लैंगिंक विभेद , जातिय विभेदका अभियान संचालन र स्थानियतहलाई ध्यानाकर्षण गर्दै आएको लगाएतको बिषयमा जानकारी दिंदै स्थानियतह , बिद्यालयहरुसंग समन्वय गरेर अभियान तथा कार्यक्रमहरु संचालन गरेको जानकारी दिनु भयो । साथै हिंसामा परेका महिला बालबालिकाहरुलाई कानुनी सहयोग तथा आर्थिक सहयोग गर्दै आएको बताउनु भयो ।

हिंसा पीडित छायाँ बारीले न्याय नपाएर भौतारिएको समयमा इन्सेकले सहयोग गरेपछि कानुनी उपचारमा ठुलो सहयोग पुगेको बताउनु भयो । घरदेखि हिंसा गरी पती , सासु , ससुराले निकाले पछि बारीलाई धेरै समस्या परेको थियो । यस्तै हिंसा पीडित बिनु चौधरीले इन्सेकको सहयोगले आफूलाइृ न्याय सम्म पुग्न सहज भएको बताउनु भयो ।

इन्सेक साधारण सदस्य रुकैया खातुनको सहजीकरणमा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिकाका सम्पूर्ण वडाका वडाअध्यक्षहरु , इन्सेक केन्द्रिय कार्यालयका सुभेक्षा खड्का , लुम्बिनी प्रदेश संयोज भोला महत , लुम्बिनी बिकास कोषका राजेश ज्ञवाली , मानव अधिकार समूहका पदाधिकारीहरु , नेपाल पत्रकार महासंघ , बिद्यालयका प्रधानाध्यापक , बाल अधिकार चेतना समूह , फातिमा फाउण्डेसनका पदाधिकारी , किशोरी अधिकार मञ्च लगाएतको सहभागिता रहेको थियो ।