आधारभूत स्काउट तालिम पूर्वखोलामा सम्पन्न

मेचीकाली संवाददाता

१ पुष २०८०, आईतवार
535 shares


नेत्र गैरे

पाल्पा । पूर्वखोला गाउँपालिकाका ३८ जना शिक्षकले आधारभूत स्काउट माष्टरको तालिम लिएका छन् । ५५३औ बि टि सी र ४०५ पि.टि.सी. स्काउट कोर्शको तालिम उद्बुद्ध मा.बि.मा सम्पन्न भएको हो ।


पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानिय स्काउट समितिको आयोजनामा गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षकहरूका लागि संचालन गरिएको ५ रात ६ दिनको आवासीय आधारभूत स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएका हुन् ।


तालिमको समापन समारोहमा क्षेत्र नम्बर १ का सांसद नारायण प्रसाद आचार्यले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उद्धेश्य पुरा गराउन तालिम सार्थक रहने बताए । अब हरेक बिधालयमा स्काउट अभियानको विस्तारमा लागि पर्न आग्रह गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले राष्ट्र र्निमाणमा स्काउटको महत्वपूर्ण भूमिका रहने बताए । उनले तालिम प्रभावकारी र उत्साहजनक रुपमा सम्पन्न भएको हुँदा यसको निरन्तरता र बिस्तारका लागि सबै क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताए ।

नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले स्काउटिङको व्यापकताका लागि लुम्बिनी प्रदेशमा अभियान कै रुपमा तालिम र ट्रुपहरु संचालन गरिएको बताए । तालिमलाई तालिममा मात्र सिमित नराखी स्काउटिङ गतिविधिलाई व्यापक बनाउन तालिम प्राप्त शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक नुन बहादुर थापाले स्काउटको मर्म अनुसारको काम गरि स्काउट गतिविधि मार्फत गुणस्तरीय शिक्षालाई सबल बनाउन गाउँपालिकाको सकारात्मक सहयोग रहने बताए । उनले आफु पनि गाउँपालिकाको स्काउट संरक्षकको रुपमा दिक्षित भएको हुँदा स्काउट क्रियाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्द्ता समेत व्यक्त गरे ।


नेपाल स्काउट प्रदेश सदस्य तथा पाल्पा ईन्चार्ज जीवन आचार्यले स्काउट पाठ्यक्रम अनुसार तालिम सफलता पुर्वक सम्पन्न भएको र आगामी दिनमा योजनाका साथ काम गर्न आवस्यक रहेको बताए । बिपद व्यवस्थापन , समुदाय सचेतना कार्यक्रममा पाल्पामा स्काउटको महत्वपूर्ण भूमिका रहने बताए ।


तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यसका फाइदा ,क्याम्प फायरको महत्व ,गाठो, डोरीको प्रयोग ,सामाजिक परोपकारका काम ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सीप साथै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीपहरु सिकाइएको थियो ।


तालिमको प्रशिक्षण तथा सहजीकरण राष्ट्रिय प्रशिक्षक सत्य नारायण शाही, रविना पौडेल,नेत्र गैरे, नविन आचार्य, यम बहादुर ठाडा, आशा गाहा र सुनिता बस्नेतको टोलीले गरेको स्थानिय स्काउट समिति पूर्वखोलाले जनाएको छ ।