निष्पक्ष होस् सभामुखको भूमिका र मर्यादा

मेचीकाली संवाददाता

४ भाद्र २०७८, शुक्रबार
600 shares

पार्टीको जिम्मेवारीबाट अलग भएपछि मात्रै सभामुख बन्ने हो । जब सभामुखले पदको गरिमा र मर्यादालाई भुलेर पार्टी नेताकै रुपमा प्रस्तुत हुनु भनेको निश्पक्षताको धज्जी उडाउनु हो । सम्मानित सदनको गरिमा बचाउने, निष्पक्षता प्रदर्शन गर्ने र संसद्लाई मर्यादित तरिकाले सञ्चालन गर्ने सभामुखको काम, कर्तव्य र भूमिका हो । विडम्बना प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटाको प्रस्तुती र भूमिका यतिबेला विवादास्पद बनेको छ । यतिमात्रै होइन, उहाँको प्रस्तुती कानुन विपरीत र संसदीय मूल्य मान्यता विपरीत देखिएको छ । हामी आग्रह गर्दछौं सभामुखको भूमिका निष्पक्ष होस् मर्यादित होस् ।

प्रतिनिधिसभाका सभामुख सापकोटाको जस्तै उस्तैउस्तै विवादास्पद भूमिकामा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती पनि देखिएका छन् । लुम्बिनी प्रदेशसभाका सभामुख घर्तीले पनि कानुन, विधि र पद्दति होइन आफू र आफूले पहिले प्रतिनिधित्व गरेको दललाई अनुकुल हुनेगरी संसद्लाई अगाडि बढाउन खोजिरहेका छन् । तीनवटा बैठक बस्दासम्म उनले विपक्षी दलका माग र निवेदनमा सुनुवाई गर्ने संकेत देखाएका छैनन् । यसो गर्नु सभामुखको पदीय मर्यादा विपरीतको काम हो ।

जबर्जस्ती र आफूले पहिले प्रतिनिधित्व गरेको पार्टीका नेताको निर्देशनअनुरुप संसदलाई सञ्चालन गर्ने कोसिस गर्नु भनेको सभामुखको मर्यादाभित्र नपर्ने कुरा हो, जुन भइरहेको छ । सभामुखलाई त संसद्मा कैयन्पटक किर्ते काम गरेको समेत आरोप छ । ती आरोपको उनले खण्डन गरेका पनि छैनन् । सभामुखको मर्यादा भुलेर प्रस्तुत हुनु भनेको सुशासनलाई र लोकतन्त्रलाई कमजोर बनाउनु हो । यस्तो प्रवृत्तिलाई महत्व नदिइयोस् । विधि, पद्दति र कानुनबमोजिम संसद्लाई अगाडि बढाइयोस् ।

कानुन पनि आफूअनूकल अपब्याख्या गर्न खोज्ने, नियम पनि आफूलाई अनुकूल बनाउन खोज्ने र विधि पद्दतिको धज्जी उडाउने काम मर्यादित पदमा रहेका जिम्मेवार व्यक्तित्वबाट हुनु हुँदैन । विडम्बना यस्ता विषयमा कानुन व्यवसायीहरुले आवाज उठाउँदैनन्, मूलधारका भनिएका मिडियाहरुले कुनै समाचार बनाउँदैनन् । सभामुखको पदको गरिमा र मर्यादा बचाएर निष्पक्ष भूमिकामा प्रस्तुत हुन सभामुखहरुलाई आग्रह छ । सांसदलाई जनताको सर्वोच्च संस्था भनेर आफैँले व्यक्त गरेका हिजोका विचारलाई अहिले व्यवहारमा उतारियोस् । सरकारले एकातिर संसद्लाई छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याउने र सभामुखले पदीय मर्यादा भुलेर प्रस्तुत हुने विषय सामान्य चाहिँ हुँदै होइन ।