जिसस कपिलवस्तुको जिल्लासभा सम्पन्न

मेचीकाली संवाददाता

१८ पुष २०८०, बुधबार
150 shares

पार्वती आचार्य

कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुले छैठौं जिल्लासभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा जिल्लाका दश स्थानीय तहका मेयर, उपमेयरहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

जिसस प्रमुख आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्लामा हुने बालविवाह अन्त्यका लागि रणनैतिक कार्ययोजना–२०७४ कार्यान्वयन गर्न आग्रह गरे । जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुले पालिकास्तरीय बालविवाह अन्त्यको रणनैतिक कार्ययोजना बनाई बालविवाह तथा लैंगिक हिंसा अन्त्यको लागि विशेष अभियान सञ्चालन गर्न उनले अनुरोध गरे ।

यस्तै जिल्लाको साझा समस्याका रुपमा रहेको छाडाचौपाया स्थायीरुपले दिगो व्यवस्थापन गर्न सम्भावित स्थानको पहिचान गरी सबै स्थानियतहसँग सहजीकरण गर्ने, बालमैत्री जिल्ला घोषणा, लैंगिक हिंसा अन्त्य र युवा विकाससम्बन्धी नीति तथा कार्यक्रम सञ्चालन गर्ने, वातावरणमैत्री जिल्ला बनाउन प्लाष्टिकलाई निरुत्साहित गर्ने, पूर्ण सरसफाइमुक्त जिल्ला बनाउन पहलकदमी गर्ने योजना प्रस्तुत गरे ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले जिसस कपिलवस्तुको गत बर्षको आयव्यय र यस आर्थिक वर्षको अनुमानित बजेट, अनुमानित आम्दानी विवरण र अनुमानित आम्दानी तथा खर्च विवरण तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
जिससका पूर्वप्रमुख नारायणप्रसाद खनालले जनताले के पायो भन्ने विषयमा प्रष्ट बोल्न नसक्नु दुखको कुरा भएको बताए । छाडाचौपाया व्यवस्थापन गर्न तीनतीन वटा पालिकाहरु मिलेर सक्रिय रुपमा लाग्न आग्रह गरे । कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रमहरु जिल्लाको विभिन्न समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने योजनासहितको भएको बताए । जिसस सदस्य मनोहर धुनियाले स्थानीयतहहरुलाई अन्तरअनुगममन कार्यहरु राख्न आग्रह गरे ।

बाणगंगा नगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्न बिभिन्न योजना बनाएर नगरका विभिन्न स्थानहरुमा कान्जीहाउस निर्माण गरी छाडारुपमा देखिएका चौपायालाई व्यवस्थापन गरिरहेको मेयर चक्रपाणि अर्यालले बताए ।
जिसस कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद दिँदै जिल्लाको समस्या बालविवाह, लैगिंक हिंसा, सरसफाइ, स्वास्थ्य, मातृमृत्युदरको अवस्थालाई सुधार गर्न स्थानीयतहलगायत विभिन्न सरोकारवालाहरु लाग्नुपर्ने बताए ।

कार्यक्रम जिसस सदस्य सुमित्रा दमाईको स्वागत तथा जिसस उपप्रमुख रमेश कुर्मीको धन्यवाद र खरिदार सुरेन्द्रप्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो । मुख्यमन्त्री सुधार कार्यक्रमलाई पुनः सुचारु गर्न प्रदेशसंग समन्वय सहकार्य गर्नसमेत जिल्ला समन्वय समितीलाई आग्रह गरिएको छ ।