बुटवल उपमहानगरमा ललितकला विषय पढाउने तयारी

मेचीकाली संवाददाता

५ भाद्र २०७८, शनिबार
882 shares

बुटवल, भदौ ५ । बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमका अतिरिक्त विद्यालय तहदेखि नै ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्यय्न र व्यवस्थापनको काम भइरहेको छ ।

यो मुलुकमै नौलो र पहिलो कार्यक्रम हो । विद्यालयको आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन अध्यापन गराउने कार्य कतै भएको छैन । केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्य जस्ता विषयमा आंशिक तथा पूर्णकालीनकालीन कक्षाहरू सञ्चालन गरेपनि ती सबै विषयगत रुपमा नरहेको विज्ञहरुको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा ललितकला विषय अध्ययन अध्यापनका माध्यमबाट विद्यालय तहदेखि नै बालबालिकामा ललितकला सम्बन्धीको अभिरुचिलाई अवसर प्रदान गर्ने गरी अवधारणा बनाइएको बुटवलका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । विद्यालयतहदेखि नै ललितकलाका विधागत सीपको विकास गर्दै व्यवसायिक तथा संस्थागत विकासका निम्ति अभिप्रेरणा जगाउने र स्थानीय कलासंस्कृतको समेत संरक्षण र संवद्र्धन गर्ने उद्देश्य रहेको प्रमुख सुवेदीको भनाइ छ ।

बुटवल उपमहानगरभित्र ललितकलाप्रति विद्यार्थीको अभिरुचि र परिवेश के कस्तो रहेको छ, यहाँका विद्यालयहरूमा ललितकलासम्बन्धी अध्ययन अध्यापनको स्थिति के कस्तो छ र ललितकलाको व्यवस्थित र दीर्घकालीन विकासका निम्ति विद्यालयमा कक्षा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयलाई मिहिन ढंगले अध्यय्न गरेर पूर्ण प्रतिवेदन बनाउन प्रमुख सुवेदीले कार्यदललाई सुझाव दिनुभयो ।

यससम्बन्धी आवश्यक अध्ययन गरी व्यवस्थापनका प्रक्रिया अगाडि बढाउन गत बैशाखमा डा.तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो । विभिन्न विषयका विज्ञहरु सम्मिलित उक्त कार्यदलले विस्तृत अध्ययन गरी उपमहानगरमा प्रारम्भिक प्रतिवेदन पेस गरेर सुझाव माग गरेको छ । सोही प्रतिवेदनमा सुझाव प्रस्तुत गर्दै प्रमुख सुवेदीले बालबालिकाको अभिरुचि र सीपलाई उपयुक्त अवसर प्रदान गर्ने र त्यसैलाई व्यवसायिक रुप दिंदै राष्ट्रिय हितमा केन्द्रित गराउन जरुरी रहेको बताउनुभएको हो ।

कार्यदलले काठमाण्डौं विश्वविद्यालय र त्रिभूवन विश्विद्यालयका ललितकला विभागका प्रोफेसरहरुसंग अन्तरक्रिया गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको कार्यदलका संयोजक भुसालले बताउनुभयो । प्रारम्भिक प्रतिवेदनका आधारमा शनिबार बुटवलका एक कार्यक्रमको आयोजना गरि सुझाव संकलन गरिएको थियो । बुटवल उपमहानगरपालिकामा ललितकला विषयलाई प्राज्ञिक विषयका रूपमा विद्यालयदेखि स्थापित गरी विद्यार्थीहरूलाई यस विषयतर्फ आकर्षित गर्न विषयगत व्यवस्थापनसम्बन्धी अध्ययन गरर प्रतिवेदनलाई अन्तिम रुप दिन सुझाव दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनुभयो ।

कार्यक्रममा सहभागी विज्ञ डा.मुराहरी पराजुली, अजित खनाल, प्रेमबहादुर बस्नेतलगायतले ललितकलाका विभिन्न विधामा विशेष अभिरुचि भएका विद्यार्थीहरूलाई ललितकला बिषयको अध्यापनका माध्यमबाट उनीहरूको उच्च शिक्षा तर्फको गन्तव्यलाई पनि सुनिश्चितता प्रदान गर्नेगरि योजना बनाउन सुझाव दिनुभएको थियो । त्यस्तै कार्यक्रममा बलवहादुर आचार्य, शान्ताराम गिरी लगायत बोल्नुभएको थियो ।

के हो ललितकला विषय ?
ललितकला मानिसका विचार, सम्बन्ध आदिसँग सम्बन्धित ज्ञानहरूमध्ये एउटा शाखा हो । ललितकला मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने वास्तु, मूर्ति, सङ्गीत, चित्र, साहित्य आदि विधामा फैलिएको ज्ञानको शाखा हो । यसले मिहिन रूपमा मानवजीवनका विविध पक्षसँग सम्बद्ध चौंसठ्ठी कलालाई समेटेको हुन्छ । यद्यपि समसामयिक सन्दर्भमा साहित्य विधाहरूसँगै विशेषतः सङ्गीत, चित्र, वास्तु, मूर्ति आदि (फाइन आर्ट) लाई बुझिन्छ ।

बुटवल उपमहानगरपालिकाभित्रका निजी विद्यालयहरूमा पनि आंशिक रूपमा अभ्यास भएको पाइन्छ भने निजी स्तरबाट सञ्चालित प्रशिक्षण केन्द्रहरूका माध्यमबाट गायन, वाद्यवादन, नृत्य, मूर्ति, रङ्ग रोगन जस्ता विधामा अभ्यासहरू भएको पाइए पनि व्यवस्थित, संस्थागत र शैक्षणिक किसिमले अध्ययन अध्यापन नभएको अध्ययन कार्यदलको प्रतिवेदनमा छ ।

के छ बुटवलमा सम्भावना ?
बुटवल उपमहानगरपालिका क्षेत्रभित्र ललितकला विषयका कक्षा व्यवस्थापन एवम् सञ्चालन गर्न उपयुक्त देखिएको अध्ययन कार्यदलको प्रारम्भिक प्रतिवेदनको निश्कर्ष रुपमा प्राप्त भएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । अभिभावक तथा विद्यार्थीहरूको अभिरुचि, विद्यार्थी तथा दक्ष जनशक्तिको उपलब्धता र विज्ञहरूका अनुभव र सुझावका आधारमा बुटवल क्षेत्र उपयुक्त रहेको विज्ञहरुको निश्कर्ष भन्दै प्रारम्भिक प्रतिवेदनमा समेटिएको आचार्यले बताउनुभयो ।

उपमहानगर आफैँले पनि ललितकलासम्बन्धी विद्यालय सञ्चालन गर्न सक्ने सम्भावना रहेको र विकल्पकमा कुनै विद्यालयलाई छनोट गरेर वा सबै विद्यालयलाई यस कार्यमा सहभागी बनाएर सञ्चालन गर्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा.भुसालले बताउनुभयो ।