स्वच्छ र गुणस्तरिय खानेपानीका लागि बगनासकालीमा प्रयोगशाला स्थापना

मेचीकाली संवाददाता

२३ पुष २०८०, सोमबार
216 shares


नेत्र गैरे

गाउँपालिकाका जनतालाई स्वच्छ र गुणस्तरिय खानेपानी खुवाउने उद्धेश्यले बगनासकाली गाउँपालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ ।


खानेपानी प्रयोगशालाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बगनासकालीका जनतालाई स्वच्छ पिउने पानीको हक सुनिश्चित गर्नुका साथै पिउने पानीको स्वच्छताका लागि प्रयोगशाला सार्थक हुने बताईन । गतबर्ष दुषित पानी कै कारण वडा नम्बर एक घोरबन्दामा गाउँ नै बिरामी भएको बताउँदै अब पालिकामा त्यस्तो बिकराल बवस्था आउन नदिने अध्यक्ष चिदीको भनाई थियो । जनतालाई स्वच्छ र शुद्ध खानेपानी खुवाउन पालिका भित्र रहेका हरेक मूल र प्रयोग हँुदै आएका मुहानहरुको परीक्षण सञ्चालन गर्नेगरी प्रयोगशाला स्थापना गरिएको र ल्यावमा पानी परीक्षण गरिसके पछि आवश्यकता अनुसार स्वस्थ्यकर पानीका लागि उपचार विधि समेत अपनाइ प्रयोगमा ल्याउने प्रयोगशालाको लक्ष्य रहेको उनले बताईन । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । प्रयोगशाला सञ्चालन भएपछि पानीको शुद्धताका लागि सहजहुने, प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता अब नरहने अध्यक्ष चिदीले बताईन ।


प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जनतालाई मुहान देखी मुख सम्म नै पानीमा शुद्धता बनाउने अभियानमा आफुहरु लागेको बताए । जनताको स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राखेर प्रयोगशाला स्थापना गरेको र पानी कै कारण धेरै रोग लाग्ने गरेकोले लामो प्रयासपछी खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना भएको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाई थियो । उनले बगनासकाली गाउँपालिकाले यस अघि स्थापना गरेको सिभिल ल्यावमा नियमीत र प्रभावकारी रुपमा काम भएको समेत जानकारी गराए ।


स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले पानीमा धमिलोपना, केमिकलजन्य पदार्थ मात्रा कति छ, दिशाजन्य पदार्थ छ की छैन् र पानीमा कोलोरिन छ वा छैन नियमीत परीक्षण हुने उहाँले बताए ।