देवस्थल मन्दिरको साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

५ भाद्र २०७८, शनिबार
466 shares

बुटवल । देवस्थल मन्दिर सञ्चालक समिति बुटवल–११ को १२ औं साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष पूर्णानन्द गिरीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले धार्मिक आस्थाले एक आपसबीच सद्भाव कायम राखेको बताउँदै सद्भाव खल्बलिने गरी गतिविधि नगर्न सवैलाई आग्रह गरे । नेपालमा रहेका हरेक जात धर्म, धार्मिक आस्थाको आ–आफ्नो विशेषता रहेको भन्दै सवैले समाजमा सद्भाव फैलानुपर्ने बताए । कार्यक्रममा बोल्दै अध्यक्ष पूर्णानन्द गिरीले मन्दिरको चौतर्फी विकासमा आफू लागेको बताए । उनले कोभिडका कारण मन्दिरमा पूजाआजा नभएपनि मन्दिरलाई हुने आम्दानी भने व्यवसायीक सटरका कारण कमी नभएको बताए ।

कार्यक्रममा शिवपथ मजुवा टोल विकास संस्थाका अध्यक्ष विरबहादुर केसी, सल्लाहकार भक्तबहादुर केसी, लेखा संयोजक भरत पाठक, नेकपा एमालेका बुटवल नगरअध्यक्ष बावुराम पन्थी, नेपाली कांग्रेसका नेता हरी लम्साल, मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीलगायतले शुभाकमना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समितिका कोषाध्यक्ष मणीप्रसाद अधिकारीले २७ लाख बराबरको आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रम समितिका बरिष्ठ उपाध्यक्ष अशोक गुरुङको स्वागत तथा सचिव पुष्पा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।